तमोर हालखबर : बैसाख ११ गते सोमबार साँझ
ताप्लेजुङको मैवाखोला गाँउपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुलाइ गुणस्तर सुधारका लागि ६ बुदे
निर्देशन
ताप्लेजुङको मैवाखोला गाँउपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुलाइ गुणस्तर सुधारका लागि ६ बुदे निर्देसन दिएको छ । गाँउपालिकाको शिक्षा समितीले बैसाख १० गतेको बैठकका निर्णय अनुसार सवै विद्यालयहरुलाइ पत्राचार गर्दै निर्देशन दिएको हो । गाउँपालिकाकि निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीमाया गोम्देन द्धारा हस्ताक्षरित पत्रमा विद्यालयमा अनिवार्य रुपमा वालमैत्री वातावरण कायम गरिनु पर्ने । , शिक्षकहरु अनिवार्य रुपमा विद्यालय पोषाकमा नियमित उपस्थीत हुनुपर्ने । सवै विद्यालयले विद्यार्थी भर्ना सञ्चालन गर्नुपर्ने निर्देसन दिइएको छ । त्यस्तै प्रतेक शुक्रवार ४ वजेसम्म विध्यालय सञ्चालन गर्नुपर्ने र वालविकास सहजकर्ताहरुले अनिवार्यरुपमा समय अवधिभर कार्य गर्नुपर्ने समेत निर्देसन दिइएको छ । शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयमा नियमित रुपमा कार्यसाला ,अन्तक्रीया ,अभिभावक भेला तथा पाठ्यक्रम प्रवोधिकरण लगायतका कार्य सञ्चालन गनुपर्ने र शिक्षकले विद्यालय समय र विद्यालय क्षेत्र भित्र मदिरा तथा सुर्तिजन्य पदार्थ सेवन नर्गन नगराउन समेत निर्देशन दिइएको छ । मैवाखोला गाउँपालिका गाँउ शिक्ष समितिको वैसाख १० गतेको बैठकका निर्णय अनिवार्य पालना गर्न आदेशानुशार अनुरोध गरिएको छ भन्ने पत्रमा विद्यालयहरुलाइ गाँउ शिक्षा समिति तथा वडा शिक्षा समितीले प्रत्यक्ष रुपमा विद्यालय अनुगमन गर्ने स्मरण समेत गराइएको छ ।
ताप्लेजुङको मिक्वखोलाद्वारा पालिकाभरी वर्षायामको समयमा गोलिया ओसारपसारमा रोक
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले वर्षायामको समयमा गोलिया ओसारपसारलाई पुर्णरुपमा रोक लगाएको छ । आगामी वैशाख २५ गतेदेखि असोज १ गतेसम्म पालिकाका कुनैपनि स्थानमा गोलिया ओसारपसार गर्न निषेध गरिएको गाउँपालिकाले जनाएको छ । वर्षायामको समयमा वर्षादको कारण हुन सक्ने बाढी पहिरोको जाखिम तथा मोटरबाटो क्षतिलाई न्युनिकरण गर्नका लागि गोलिया ओसारपसारमा पुर्ण रोक लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित नारायण यादवद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ । तोकिएको अवधिभित्र गोलिया ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने समेत सचनामार्फत चेतावनी दिइएको छ । २०७९ साल चैत्र २१ गते बसेको गाउँकार्यपािलकाको बैठकले करिब ४ महिनासम्म गोलिया ओसारपसार गर्न निषेध गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।
शङ्कराचार्यको जन्मजयन्तीको अवसरमा फलफुल वितरण
नेपाल दशनामी समाज ताप्लेजुङले सोमवार ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गर्दै आद्य गुरु शङ्कराचार्यको २ हजार २ सय ३५ औँ जन्मजयन्ती मनाएको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना सहित बिरामीलाई फलफुल वितरण गरी जन्मोत्सव मनाएको दशनामी समाज ताप्लेजुङका अध्यक्ष देउनारायण पुरीले जानकारी दिनुभयो । फुङलिङ नगरप्रमुख अमिर मादेनले शङ्कराचार्यको योगदानको प्रशंसा गर्दै शङ्कराचार्यको जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण गरेर दशनामी समाजले पुण्यप्राप्तिको काम गरेको बताउनुभयो । कार्यक्रममा समाजका पूर्व जिल्ला अध्यक्ष युवराज गिरीले नेपालमा बसोबास गर्ने दशनामीलाई अल्पसंख्यक समुदायको रुपमा सूचिकृत गर्न माग गर्नु भएको थियो ।
संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने तीन दलको सहमति
प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने सहमति भएको छ। सिंहदरबारमा भएको ३ दलका शीर्ष नेताहरू बैठकले यस्तो सहमति गरेको हो । यो विधेयकमाथि छलफल गर्न विशेष समिति गठन हुनेछ । समिति १५ सदस्यीय हुनेछ । संवैधानिक परिषद्सम्बन्धी विधेयक भने संसद् बैठकबाट पारित गर्ने सहमति भएको हो । त्यसैगरी बैठकमा एमालेले संसद्का १५ समितिमध्ये सार्वजनिक लेखासहित २ वटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले चारवटा समितिको सभापति दाबी गर्दै आएको थियो । 'अहिलेलाई फरक धारणा रहेका सबै विषयमा प्रमुख ३ दलबीच सहमति जुटेको छ‚' एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।
९ हजारभन्दा धेरै पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
अघिल्लो आर्थिक वर्षमा नाै हजार जनाभन्दा धेरै पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण नबुझाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनअनुसार सङ्घ, प्रदेश र पालिकामा गरी सात लाख २८ हजार सात सय ४७ जना पदाधिकारी तथा कर्मचारीमध्ये नौ लाख पाँच सय ९० जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा रहेकाहरूले तोकिएको आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाए पाँच हजार रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुमान गरी अख्तियारले छानबिन गर्न पाउने व्यवस्थासमेत छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएकमा थिएनन् । अघिल्लो वर्षको तुलनामा २०७८/०७९ मा सम्पत्ति विवरण बुझाउनेकाे सङ्ख्या केही बढेको छ ।
तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा: दबाव सृर्जना गर्न पत्रकार सम्मेलन
पाँचथर, ताप्लेजुङ र तेह्रथुममा पर्ने ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा परेको छ । पाँचथरको कुम्मायक र तेह्रथुमको छथर गाउँपालिकाको लुवुघाटमा निर्माण हुने ७६२ मेगावाटको आयोजना चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)ले बनाउने भनिएको आयोजना फिर्ता लिइने भएपछि अन्योलमा परेको हो । चीन र नेपालको लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि फिर्ता लिन लागिएको लगानी बोर्डले जनाएको छ । जसबाट आयोजना क्षेत्रका पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका नागरिक अन्योलमा परेका छन । निर्माणधिन योजना अन्योलमा परेको भन्दै तमोर जलाशययुक्त जलविद्युत सरोकार तथा समन्वय समितिले पाँचथरको सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै योजनालाई गति दिन आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको हलमा भएको पत्रकार सम्मेलनमा तीन जिल्लाको मात्रै नभई प्रदेश सरकारको गौरवको आयोजना एचआईडीसीएलले लगानी बोर्डलाई सम्झौता तोड्न गरेको आग्रहले नागरिकलाई चिन्तित बनाएको सरोकार समिति कुम्मायक अध्यक्ष नरबहादुर खड्काले बताए । तमोरमा चाइना पावर कम्पनीले सम्भाव्यता अध्यायन, निर्माणस्थलको सडक स्थानन्त्रण, डुवान क्षेत्रको जग्गा कारोबार रोक्का गर्ने काम अघि बढाएको थियो । तर सरकारको प्रतिनिधि संस्था लगानी बोर्डले आयोजना स्थलका नागरिक र देशकै विकासमा असर पुर्याउँने काम गर्न खोजेको खड्काको दावी छ । योजना निरन्तरताको पाँचथरबाट प्रतिनिधि मण्डल सहितको टोलिले लगानी बोर्ड, एचआईडीसीएल र सरकार समक्ष चाँडै दबाव सृर्जना गर्ने जनाएको छ ।
थपिए ११३ संक्रमित, ७२ जना कोरोनामुक्त
देशभर पछिल्लो समय १ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ४९ जना कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने हाल देशभर ३६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
घट्दै सेयर बजारमा लगानीकर्ताको सक्रियता, कारोबार रकम निरन्तर ओरालो
सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । बजारमा बिक्री चाप नभएपनि लगानीकर्ता विश्वस्त भएर सक्रिय नबन्दा कारोबार रकम घट्दै गएको लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले ब्याजदर घटाउन निर्णय गरेपनि लगानीकर्तासँग लगानी गर्ने स्रोतको सहज उपलब्धता नहुँदा अझै पनि बजारमा ट्रेड गर्ने लगानीकर्ता प्रवेश गरेका छैनन् । तर, लगानी होल्ड गरिरहेका लगानीकर्ताले भने बजार बढ्ने आशमा बिक्री चाप नल्याउँदा बजारमा कारोबार रकम घट्दै गएको छ । सोमबार नेप्सेमा उतारचढावका बीच २.७१ अंकले वृद्धि भएर १८८८.३२ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशतले गिरावट भएको छ । लघुवित्त, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा लगायतका अधिकांश उपसूचक वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको छ । नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । करिब ८३ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर ७५ करोड १३ लाखमा सीमित भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको सर्वाधिक करिब ८ करोड ८२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ३ करोड र नबिल बैंकको २ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सोमबार पिपुल्स पावर कम्पनीको सेयरमूलय सर्वाधिक ८.११ प्रतिशतले वृद्धि हुँदा आँखुखोला जलविद्युत कम्पनीको ३.५६ प्रतिशत र मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ३.२५ प्रतिशतले वृद्धि भएको छ । यता कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ९.६२ प्रतिशतले गिरावट हुँदा मोलुङ हाइड्रोपावरको ५.९१ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ४.५८ प्रतिशतले गिरावट भएको छ ।
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिनुभयो । देशको सेना र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो । उहाँले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताउनुभयो । लडाइँ जारी रहँदा पिडित बालबालिकाको सङ्ख्या उल्लेख्यरूपमा बढ्ने देखिएको उहाँले बताउनुभयो । एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिसहरु फसेका छन् र उनीहरुसँग विद्युतको पहुँच छैन । एल्डरका अनुसार सुडानमा बालबालिकामा कुपोषणको दर विश्वमै सबैभन्दा बढी छ । सुडानमा यसका कारण चार करोड अमेरिकी डलर भन्दा बढीको खोप र इन्सुलिनलाई उचित तापक्रममा राख्न कठिन भएको छ । गत शनिबार सुडानी सेना र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच राजधानी खार्तूम र आसपासका क्षेत्रमा भिडन्त भएको थियो । सन् २०२१ को अक्टोबरमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकको सङ्क्रमणकालीन सरकारलाई बर्खास्त गर्नुका साथै आपतकालीन अवस्थाको घोषणा गरेपछि सुडानमा सन् २०२१ को अक्टोबरदेखि सेनाको नियन्त्रणमा सत्ता चलेको छ ।
मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानी प्रधानमन्त्रीको भनाइ
जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताउनुभएको छ । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसदको तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताउनुभएको हो । “हामीले एकपछि अर्को गर्दै महत्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने भएकाले म तत्कालका लागि विघटन र आम निर्वाचनको बारेमा सोचिरहेको छैन,” प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै किशिदाले भन्नुभयो । उहाँले अर्को महिना हिरोशिमामा हुने विकशित राष्ट्रहरूको समूह जी–७ शिखर सम्मेलनपछि चुनाव गराउने योजना बनाइरहेको हुन सक्ने अनुमान गरिएको छ । आइतबार भएको संसदीय उपनिर्वाचनमा किशिदा नेतृत्वको सत्तारुढ एलडीपीले पाँचमध्ये चार सिट जितेको छ भने विपक्षी ‘जापान इनोभेसन पार्टी’ले एक सिट जितेको छ । एलडीपीले प्रतिनिधि सभा वा तल्लो सदनको तीन निर्वाचन क्षेत्र र माथिल्लो सदन हाउस अफ काउन्सिलरको एक निर्वाचन क्षेत्रमा विपक्षी दलका उम्मेदवारहरूलाई पराजित गरेको थियो । जापान इनोभेसन पार्टीले एलडीपीलाई पराजित गर्दै तल्लो सदनको आफ्नो सिट सुरक्षित गरेको छ भने प्रमुख विपक्षी कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापानले तीनवटै निर्वाचन क्षेत्रमा हार बेहोरेको छ ।
भारतमा पहिलो पटक वाटर मेट्रो सञ्चालन हुँदै
भारतमा मंगलबारबाट पहिलो पटक वाटर मेट्रो सञ्चालनमा आउने भएको छ । केरलाको कोचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो वाटर मेट्रोको शुभारम्भ गर्ने छन् । कोची वाटर मेट्रोले राज्यको जल यातायात क्षेत्रमा क्रान्ति ल्याउने तथा पर्यटनलाई प्रवद्र्धन गर्ने केरलाका मुख्यमन्त्री पिनाराई विजयनले प्रतिक्रिया दिएका छन् । कोचिन शिपयार्ड लिमिटेडले बनाएको यो मेट्रो परियोजनाको आरम्भमा आठ वटा विद्युतीय हाइब्रिड डुंगाहरू सञ्चालन गरिने छन् । कोची वाटर मेट्रोले वरपरका १० वटा टापुलाई जोड्ने छ । यस परियोजनामा केरल सरकार र जर्मन कम्पनी केएफडब्ल्यूको लगानी छ । कोची वाटर मेट्रो परियोजनामा ७८ वटा विद्युतीय डुंगा र ३८ वटा टर्मिनल छन् । यो वाटर मेट्रो लिथियम टाइटानाइट स्पाइनल ब्याट्रीबाट चल्ने छ । यो वातावरणमैत्री, विद्युत्त–सञ्चालित तथा अपांगमैत्री भएको बताइएको छ । कोची वाटर मेट्रो परियोजनाको कुल लागत ११३७ करोड भारु रहेको बताइएको छ ।
नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ (जुन १५) मा मैत्रीपूर्ण खेल खेल्ने भएको हो । नेपालले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा डे अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्ने लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मैत्रीपूर्ण खेल खेल्ने लगभग पक्का भईसकेको बताए । फिलिपिन्स नेपाल भन्दा माथिल्लो वरीयताको टोली हो । फिलिपिन्स १ सय ३६ औं स्थानमा रहेको छ । नेपालको वरीयता १ सय ७४ औं रहेको छ । फिलिपिन्ससँग नेपालले हालसम्म ६ खेल खेलेको छ । जसमा नेपालले ४ खेल हारेको छ । नेपालले एक खेल जितेको छ र एक खेल बराबरी खेलेको छ । पछिल्लो पटक नेपालले २०१७ मा फिलिपिन्ससँग खेलेको थियो । एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसअघि फिलिपिन्सले पहिलो लेगमा नेपाललाई ४-१ ले हराएको हो ।
आईपीएल - दिल्ली र हैदराबाद खेल्दै
भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज सोमबार एक खेल हुदैछ । हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ । आजको खेलमा अंक तालिकाको पुछारको टोली दिल्ली क्यापिटल्स र पुछारबाट दोस्रो स्थानको सनराईजर्स हैदराबादबीच खेल हुदैछ । लगातार पाँच खेलमा हारपश्चात प्राप्त जितको लय दिल्ली कायम राख्न चाहन्छ । हैदराबाद हारको शृंखला समाप्त गर्न चाहन्छ । दिल्ली र हैदराबादबीचको पछिल्लो पाँच भेटमा दिल्ली बलियो रहेको छ । चार खेलमा दिल्ली र एकमा हैदराबाद विजयी भएका थिए । दिल्लीले एक खेल भने सुपर ओभरमा जितेको थियो ।
ताप्लेजुङको मौसम
आज विहानको ताप्लेजुङको न्युनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको थियो भने दिउसोको अधिकतम तापक्रम २०.२ डिग्री सेल्सीयस रहेको जल तथा मौषम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङमा पछिल्लो २४ घण्टामा २३.६ मिलिमिटर वर्षा भएको छ । सुर्योदय विहान ५ बजेर २३ मिनेटमा भएकोे थियो भने सुर्यअस्त अघि सांझ ६ बजेर २३ मिनेटमा भएको छ ।
ताप्लेजुङमा अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा
ताप्लेजुङ - कालो सुनको उपमा पाएको अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा रहेको छ । केही दिन यता जिल्लामा स्थिर रहेको अलैँचीको मुल्य पुनः उकालो लाग्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार पुगे ६ हजार ५ सय १२ जना भक्तजन
ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार एकैदिन ६ हजार ५ सय १२ जना भक्तजनले दर्शन गरेका छन् । यो संख्या कार्तिक महिना सुरू
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने भएको छ । शिविरको पहिलो हिजो ५ सय ८

प्रतिकृया दिनुहोस