नयाँ बसपार्क–हिरेवा दोभान सडक अलपत्र, छ वर्षमा एक तिहाइ काम पनि भएन
फुङलिङ, असोज २१ गते ।
ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि मिक्वाखोला गाउँपालिका जोड्ने नयाँ बसपार्क–माछापोखरी–हिरेवा दोभान सडक निर्माण सुरु भएको छ वर्ष पुग्न लाग्दा पनि एक तिहाइ काम पूरा भएको छैन ।
सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले सास्ती खेप्नुपरेको छ भने पर्यटकीय क्षेत्रको विकाससमेत प्रभावित भएको छ । २०७७ साल फागुन ३० गते गौरी पार्वती तथा प्रतिष्ठा जेभीले नौ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८१ भदौ ३० गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम नसकिएपछि दुई पटक म्याद थप गरिएको हो । हालको ठेक्काको म्याद २०८४ असार ३० गतेसम्म कायम छ । पहिलो पटक २०८३ वैशाख ३० गतेसम्म र दोस्रो पटक २०८४ असार ३० गतेसम्म म्याद थप गरिएको हो ।
२६ करोड ४८ लाख ५६ हजार १६३ रुपियाँ ६८ पैसामा ठेक्का सम्झौता भएको सडकमा हालसम्म पाँच करोड ९९ लाख ६६ हजार ७६३ रुपियाँ ७९ पैसा भुक्तानी भएको छ । योजनाका अनुसार सडकको भौतिक प्रगति ३५ प्रतिशत मात्र छ ।
थपिएको समयसमेत सकिन लाग्दा सडकको भौतिक प्रगति एक तिहाइभन्दा कम रहेको तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजनाले जनाएको छ ।
सडक निर्माणमा भएको ढिलाइले फुङलिङबाट मिक्वाखोला जाने स्थानीयलाई दैनिक आवतजावतमा समस्या भएको छ । सडकको अवस्था कमजोर हुँदा बिरामीलाई समयमै उपचारका लागि सदरमुकाम ल्याउनसमेत कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ ।
फुङलिङ नगरपालिका–१ का स्थानीय कृष्णप्रसाद आचार्यले सदरमुकामसँग नजिकको क्षेत्र जोड्ने सडक लामो समयदेखि अलपत्र हुँदा स्थानीयले दुःख पाएको बताउनुभयो । उहाँका अनुसार सडक निर्माणमा ढिलाइ हुँदा यातायात सेवा सहज हुन सकेको छैन ।
मिक्वाखोला–५ पापुङका पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पाले सडककै कारण फुङफुङगे झरना, तोक्पेगोला, सोधोपोखरी, लोदेनलगायतका पर्यटकीय क्षेत्रमा अपेक्षाअनुसार पर्यटक पुग्न नसकेको बताउनुभयो ।
सडक सहज भएमा सदरमुकामबाट छोटो दूरीमा रहेका यी क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सुधार आउने उहाँको भनाइ छ ।
सडकको दुरवस्थाले स्थानीयसँगै जनप्रतिनिधिलाई समेत समस्या भएको फुङलिङ नगरपालिका–१ का वडाध्यक्ष रुद्रकुमार मादेनले बताउनुभयो । नागरिकको सेवा तथा कार्यालयका कामका लागि नियमित आवतजावत गर्नुपर्ने सडक निर्माणमा भइरहेको ढिलाइले समस्या थपिएको उहाँको भनाइ छ ।
सडक योजनाले निर्माण कम्पनीलाई पटकपटक काममा गति दिन ताकेता गर्दै आएको जनाएको छ । न्यून प्रगति देखिएपछि ठेक्का सम्झौताअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको योजनाले जनाएको छ ।
हाल निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिइएको र सोहीअनुसार काम भए चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको योजनाको भनाइ छ ।
सडक समयमै निर्माण नहुँदा स्थानीयको दैनिकीसँगै मिक्वाखोलाका पर्यटकीय सम्भावना उपयोगमा समेत बाधा पुगेको छ । निर्माण कम्पनी र आयोजना पक्षबिचको समन्वयबाट बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ ।
विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु
केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोडको शैक्षिक अक्षयकोष स्थापना
ताप्लेजुङ – केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपियाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा शनिबार
ताप्लेजुङमा चार दिनमै ९५ क्विन्टल चिनी बिक्री
ताप्लेजुङ - ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९५ क्विन्टल चिनी बिक्री गरेको छ । स्थापना भएको ४८ वर्षपछि

प्रतिकृया दिनुहोस