शनिबार-श्रावण-३०-२०८३/ 15-Saturday-August-2026

ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्वारा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिमा निर्माण गरेको छ । भावी पुस्तासम्म सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने लक्ष्यसहित गाउँपालिकाले ५४ फिट उचाइ र ५४ फिट चौडाइको प्रतिमा निर्माण गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सिलाम साक्मा पछिल्लो समय लिम्बू समुदायमा मात्र सीमित नरही विभिन्न सार्वजनिक कार्यक्रम र औपचारिक समारोहमा समेत प्रयोग हुन थालेको छ । यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न प्रतिमा निर्माण गरिएको उहाँले बताउनुभयो ।

 

लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु भन्ने बुझिन्छ । लिम्बू समुदायको धार्मिक विश्वासअनुसार सिलाम साक्माले मृतात्माको बाटो छेक्ने तथा जीवित व्यक्तिलाई सकारात्मक ऊर्जा, स्वास्थ्य, स्फूर्ति र उच्च मनोबल प्रदान गर्ने विश्वास रहिआएको छ ।

 

गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा हालै सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा पनि विशाल आकारको सिलाम साक्मा निर्माण गरी प्रदर्शन गरिएको थियो । वर्गाकार स्वरूपमा तयार गरिएको ५४–५४ फिटको प्रतिमासँगै विभिन्न आकारका सिलाम साक्मा प्रदर्शनीमा राखिएपछि स्थानीय तथा बाह्य आगन्तुकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतियोगिताका लागि निर्माण गरिएको अस्थायी संरचनापछि सोही स्थानमा स्थायी सिलाम साक्मा प्रतिमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिलाम साक्मा लिम्बू समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रतीकका रूपमा प्रयोग गर्दै आएका छन् । धार्मिक तथा सांस्कृतिक कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा र बिजुवाले बाँसको सिन्का तथा उनीको धागो प्रयोग गरेर सिलाम साक्मा निर्माण गर्ने परम्परा रहँदै आएको छ । लिम्बू थाक्थुङ मुन्धुमअनुसार यसको विशेष धार्मिक महत्त्व रहेको विश्वास गरिन्छ ।

 

पछिल्ला वर्षहरूमा बाँस, धागो तथा विभिन्न धातुबाट सिलाम साक्मा निर्माण गरी घर, कार्यालय र सार्वजनिक स्थलमा राख्ने चलन पनि बढ्दै गएको छ । गाउँपालिकाले प्रतिमा निर्माणमार्फत लिम्बू संस्कृतिको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री

ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सूचक प्रगति मापनका आधारमा उत्कृष्ट 

ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा कार्यसम्पादन सूचकका आधारमा आठराई त्रिवेणी

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो 

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि