मंगलबार-असोज-२७-२०८३/ 13-Tuesday-October-2026

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमबार ७८ क्विन्टल बढीको खाद्यान्न सामाग्री बिक्री गरेको छ । शाखाले एकैदिन ७८ क्विन्टल ३३ किलोग्राम खाद्यान्न सामाग्री बिक्री गरेको हो । 

 

शाखा कार्यालय ताप्लेजुङका प्रमुख प्रकाश तिम्सिनाका अनुसार चामल, दाल र चिनी उक्त परिमाणमा बिक्री भएको हो । उहाँका अनुसार खाद्यले ताप्लेजुङमा पहिलो पटक सोमबारदेखि दाल बिक्री गर्न सुरु गरेको हो । कार्यालयले पहिला दिन कुल ५७२ किलोग्राम दाल बिक्री गरेको छ । प्रतिकिलोग्राम १४५ रुपियाँमा दरले ८२ हजार ९४० रुपियाँको दाल बिक्री भएको प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । 

 

 

त्यस्तै चिनी दुई हजार ८६ किलोग्राम बिक्री भएको छ । प्रतिकिलोग्राम ११० रुपैयाँमै चिनी उपभोक्ताले पाउन थालेसँगै बिक्री पनि धेरै भएको कार्यालयको भनाइ छ । सोमबारमात्रै दुई लाख २९ हजार ४६० रुपियाँको चिनी बिक्री भएको छ । गत असोज १४ गतेबाट चिनी बिक्री गर्न सुरु गरेको कार्यालयले १० दिनको अवधिमा दुई सय क्विन्टल बढी बिक्री गरेको छ । 

 

कार्यालयले सोमबार एकैदिन चार लाख ५५ हजार १०० रुपियाँका चामल बिक्री गरेको छ । २५ किलोग्रामको जिरा मसिनो चामल १७९ बोरा र सोना मन्सुली २८ बोरा उपभोक्ताले खरिद गरेको बताइएको छ । यो सहित सोमबार कुल सात लाख ६७ हजार ५०० रुपियाँको खाद्यान्न बिक्री गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कुल २९८ जना सेवाग्राहीले खाद्यन्न सामाग्री खरिद गरेका थिए ।

 

चाडपर्वको अवसरमा विशेष छुटमा दाल तथा चिनी बिक्री गर्न सुरु गरेसँगै ग्रामीण भेगबाट अधिकांश उपभोक्ताहरूको भीड लाग्ने गरेको छ । खाद्यमा सहुलियत मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य सामाग्री पाउन थालेसँगै उपभोक्ताको चाप वृद्धि भएको हो ।

 

 

 

कार्यालयमा हाल चार जना मात्रै कर्मचारी रहेका छन् । उनीहरूलाई उपभोक्ताको चाप थेग्न मुस्किल परिरहेको छ । उपभोक्ताको माग अनुसार थोरै खुद्रा परिमाणमा चिनी तथा दाल तौलिएर प्रदान गर्नुपर्ने भएकाले कर्मचारीलाई थप भार परिरहेको छ । जनशक्ति कम हुँदा कर्मचारी तथा उपभोक्ता दुवैलाई सकस परिरहेको शाखा प्रमुख तिम्सिनाको भनाइ छ । कर्मचारीलाई थप भार परिरहेको छ भने सेवाग्राही केही लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ । 

 

जसको समाधानका लागि कार्यालयले थप कर्मचारीको समेत माग गरेको बताएको छ । जनशक्ति तत्काल थप भए कर्मचारीलाई कम भार पर्नुका साथै ग्राहकहरूले समेत तत्काल सेवा पाउने कार्यालयको विश्वास रहेको छ ।  

 

 

प्रतिकृया दिनुहोस

मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन

कृष्ण फुरुम्वो लिम्बू ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर

मिक्वाखोला गाउँपालिकाद्वारा पालिका भित्रका बिद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्न सुरु 

ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका भित्रका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक, सुट वितरण गर्न सुरु गरेको छ । अध्यक्ष

किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष

किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी

↑