बुधबार-असोज-१४-२०८३/ 30-Wednesday-September-2026

दोभान अग्निपीडितलाई एमाले ताप्लेजुङ र मेरिङ्देन कमिटीद्वारा ४ लाख २१ हजार बढी आर्थिक सहयोग

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङस्थित दोभान बजारका अग्निपीडित १७ परिवारलाई नेकपा (एमाले) ले चार लाख २१ हजार ११० रुपियाँ आर्थिक सहयोग गरेको छ । 

 

आगलागीबाट प्रभावित परिवारलाई एमाले जिल्ला कमिटी ताप्लेजुङ र मेरिङ्देन गाउँपालिका कमिटीले संयुक्त रूपमा राहतस्वरूप उक्त रकम उपलब्ध गराएको हो । एमाले जिल्ला कमिटीका तर्फबाट एक लाख ६० हजार र मेरिङ्देन गाउँपालिका कमिटीका तर्फबाट दुई लाख ६१ हजार ११० रुपियाँ वितरण गरिएको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) ले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कमिटीले प्रभावित प्रत्येक परिवारलाई १० हजार रुपियाँका दरले सहयोग गरेको छ । गाउँपालिका कमिटीले भने क्षतिको अवस्थाका आधारमा रकम वितरण गरेको हो ।

 

सबैभन्दा बढी प्रभावित परिवारलाई २३ हजार २३० रुपियाँ, मध्यम प्रभावितलाई १८ हजार १०५ रुपियाँ र सामान्य प्रभावितलाई १० हजार ३१५ रुपियाँका दरले सहयोग गरिएको छ । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला कमिटी इन्चार्ज तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो, कार्यवाहक अध्यक्ष पोमू, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशर सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङका अध्यक्ष मानिक तुम्बाहाङ्फे तथा मेरिङ्देनका जनप्रतिनिधिको उपस्थिति थियो । 

 

बिहीबार दिउँसो करिब १ः४० बजे भएको आगलागीबाट घरधनी आठ र भाडामा बस्ने नौ गरी १७ परिवार प्रभावित भएका छन् । आगलागीमा १० वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घर तथा पसलका संरचनासहित होटल, गोदाममा राखिएको अलैँची, नगद लगायतका सामग्री जलेर नष्ट हुँदा प्रारम्भिक रूपमा १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो । प्रहरीले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । दोभान बजारमा यसअघि २०७७ फागुन १८ गते भएको आगलागीमा ४९ घर जलेर नष्ट हुँदा करिब ४० करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

प्रतिकृया दिनुहोस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले चिनी बिक्री सुरु गर्दै

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले चिनी समेत बिक्री सुरु गर्ने भएको छ । हालसम्म चामलमात्र बिक्री गर्दै आइरहेको

श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा ६ ओटा घर निर्माण गरि हस्तान्तरण

ताप्लेजुङ - श्रम संस्कृति पार्टी ताप्लेजुङले ६ ओटा घर निर्माण गरि हस्तान्तरण गरेका छन् । पार्टीले जिल्ला भित्रका विभिन्न परिवारलाई श्रमदान मार्फत

ताप्लेजुङको दोभान बजारमा बिद्युत सर्ट भएर आगलागी, १० घर जले

ताप्लेजुङ - ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा भीषण आगलागी भएको छ । बिहिबार दिउँसो भएको आगलागीबाट हालसम्म १० घर जलेर नष्ट भएको

↑