तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

 
अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै 
नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ। महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। 
भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार)को पूजा गर्ने चलन पनि छ। नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन्। अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ।  यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन्।

कैदीबन्दीको सजाय मिनाह रोकियो 
नयाँ मुलुकी अपराध संहिताका कारण यो दशैमा विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका कैदीबन्दीको सजाय मिनाह रोकिएको छ । गणतन्त्र दिवस र वडा दशैंको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशत कैद जीवन भुक्तान गरेकालाई कैद मिनाह गर्दै आएको थियो । गृह मन्त्रालयले यसअघि असल चालचलन भएका जघन्य अपराधका मुद्दामा कैद सजाय भोगिरहेका बाहेकका कैदी बन्दीमध्ये ४० प्रतिशत कैद भुक्तान गरेका असल चालचलन भएकाको नामावली माग्ने गरेको थियो । तर यसपालि गृहले नामावली नमागेको केद्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिरकारीले बताउनुभयो । नयाँ मुलुकी अपराध संहिताका कारण दशैंमा कैदी बन्दीले यो सुबिधा नपाएको गृहले जनाएको छ । गणतन्त्र दिवसका अवसरमा भने सरकारले माओवादी नेता बालकृष्ण ढुंगेल सहितलाई रिहा गरेको थियो । गत भदौबाट लागू भएको नयाँ अपराध संहिताका कारण मुलुकी अपराध संहिता अनुसार कैदीबन्दीले कैद मिनाह पाउन जघन्य अपराध अन्तर्गत भष्टाचार, जबर्जस्ती करणी, राज्यविरुद्धको अपराध, मानव बेचबिखन विरुद्धको अपराध, लागूऔषध कारोबार, शरीर बन्धन बाहेकका अन्य अपराधका मुद्दामा कम्तिमा ७५ प्रतिशत कैद जीवन भुक्तान गरेको हुनुपर्ने उल्लेख छ । 

विभिन्न स्थानहरुमा खेलकुद तथा सांस्कृतकि कार्यक्रम 
वडा दसैँ तथा सुभ दिपावीको अवशरमा ताप्लेजुङ सहित देसैभरका विभिन्न स्थानहरुमा खेलकुद तथा सांस्कृतकि कार्यक्रम भैरहेका छन् । यही अशवरमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ मेदिवुङमा पनि आज विभिद खेल तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । स्थानिय मेदिवुङ युथ क्लवको आयोजनामा हाजिरीजवाफ, कुर्सी दौड, वेलुन फुटाई, गायन तथा नृत्य प्रतियोगिता हुदैछ । मेदिवुङ प्रावीको खेल मैदानमा विहान १० वजे देखि हुने प्रतियोगिताको विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ । विषेशगरि वालवालिकालाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको क्लवका सल्लाहकार राजकुमार आले मगरले जानकारी दिनुभयो । यसैविच जिल्लाका आठराई त्रिवेणी, मेरिङदेन, सिरीजंघा, सिदीङ्वा लगायतका स्थानहरुमा पनि खेलकुद तथा सांस्कृतिक कार्यक्रम भैरहेको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन् । 
 

केन्द्रबाट नपाएपछि आफै कर्मचारी राख्ने तयारीमा प्रदेश २
केन्द्रबाट आवश्यकताअनुसार कर्मचारी नपाएपछि प्रदेश २ सरकारले आफैं कर्मचारी भर्ना गर्ने तयारी थालेको छ।गत महिना पोखरामा भएको मुख्यमन्त्री भेलाले कर्मचारी व्यवस्थापन नभएसम्म करारमा राख्ने गरी सहमति दिन केन्द्रसँग गरेको थियो।तर केन्द्रले सहमति नदिँदै प्रदेश–२ ले करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गराइसकेको छ।संघीय कानुन नआउँदै प्रदेश प्रहरी सेवा ऐन ल्याएको प्रदेश २ एकपछि अर्को कानुन ल्याउने तयारीमा देखिन्छ।  संविधानका विभिन्न धारामा प्रदेशले प्रयोग गर्ने अधिकार पनि संघीय कानुनले तोकेबमोजिम हुने भनिएकाले प्रदेश सरकार सञ्चालनका लागि दर्जनौं विषयमा संघीय कानुन आवश्यक छ।
प्रदेश प्रहरी, निजामती सेवा, विद्युत, सिंचाइ, खानेपानी, विश्वविद्यालय, उच्च शिक्षा, प्रदेश लोकसेवा, वन, खानी तथा भूमि व्यवस्थापन लगायत विषयमा संघीय कानुन नभई प्रदेशले काम गर्न सक्ने अवस्था छैन। यसका लागि केन्द्रबाट संघीय र प्रादेशिक निजामती सेवा सम्बन्धी ऐन बन्नुपर्छ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले केन्द्रले कर्मचारी नपठाउँदा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमै समस्या आएको बताए । संघीय कानुन नबनेसम्म प्रदेशले कानुन बनाउन नसक्ने संविधानमा कतै नलेखिएको दाबी गर्दै उनले सार्वभौम प्रदेशसभाले आवश्यकताअनुसार कानुनहरू बनाउँदै जाने जनाए।अधिकृतस्तर र त्यसभन्दा माथिका ९ सय ९१ कर्मचारीको दरवन्दी स्वीकृत भएकामा अहिलेसम्म प्रदेश सरकारले जम्मा ३० जना अधिकृत मात्र पाएको यादवले उल्लेख गरे । अधिकृतभन्दा मुनिका कर्मचारी पनि अत्यन्तै न्यून छन् । प्रदेशको विकास बजेट एक प्रतिशत हाराहारी पनि खर्च हुन सकेको छैन । कर्मचारी अभावमा अन्य प्रदेशको बजेट खर्चको अवस्था पनि अत्यन्तै कमजोर छ।

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै
आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको हो ।नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको छ । बैठकले छलफल गरेपछि पार्टीका स्थायी समिति बस्ने गरी समन्वयसमेत गरिरहेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थायी समितिको बैठक १२ र १३ गतेका लागि बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् । एमाले र माओवादी केन्द्रबीच संयुक्त चुनावी गठबन्धन सुरु भएदेखि नै नेकपाका संगठनहरू चलायमान छैनन् । गत जेठमा केन्द्रमा एकता गरेपछि त झन् पार्टीका काम करिब ठप्प छन् । एक साताअघि बसेको सचिवालय बैठकबाट एकता प्रक्रियाका अल्झन हटाउने भनिएको थियो । तर उक्त बैठकमा अकस्मात् नेता वामदेव गौतमको चुनावमा उठ्ने प्रसंग र काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामाको पत्र आएपछि अन्य विषयमा छलफल हुन सकेको थिए ।
नेकपाले हाल प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । यद्यपि यो निर्णयमाथि पनि वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ । नेपालको असहमति भए पनि प्रदेशका पदाधिकारीहरूले काम थालिसकेका छन् । उनीहरूले अहिले सहमति कायम हुन सक्ने जिल्लाको खाका बनाइरहेका छन् । दुवै पार्टीको सम्पत्ति एकीकृत गर्ने, भेलाहरू आयोजना गर्ने लगायतका काम प्रदेशका पदाधिकारीहरूले गरिरहेका छन् । अब केन्द्रबाट एउटा ठोस निर्देशन जानेबित्तिकै जिल्ला तहको सबै एकीकरण पूरा हुन्छ । पार्टी एकीकरण नभएका कारण सरकारले गरेका कामकारबाहीमा समेत नेताहरूले स्वामित्व लिन हिच्किचाइरहेका छन् । त्यसैले अब छिटो एकीकरण टुंग्याउनुपर्ने दबाब नेताहरूमा छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दसैंको बिदाको समयमा पनि आन्तरिक परामर्श गरी सचिवालय बैठकको तयारी गर्नेछन् । सचिवालयले एकताका सैद्धान्तिक आधारका गृहकार्य गरेपछि स्थायी समितिमा बृहत् छलफल हुन्छ । यसपटक स्थायी समितिले सरकारका कामकारबाहीको विषयमा पनि समीक्षा गर्ने जनाइएको छ । 

प्रदेशले सुरक्षाको विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्छ : गच्छदार
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानुन निर्माण गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे। पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानुनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोड दिए। कांग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको आरोप लगाउँदै उनले यसबाट स्थानीय सरकारले स्वायत्त तथा आत्मनिर्भर भएर जनताको विकासको चाहना पूरा गर्न नसकेको धारणा व्यक्त व्यक्त गरे। उनले भारतसँगको थप चार हवाई मार्ग प्राप्त गर्ने सहमति कार्यान्वयन हुन नसकेमा सरकारको असफलता हुने बताए। महँगी वृद्धि र जनतामा कर भार थपिएकामा, दिन प्रतिदिन शान्तिसुरक्षाको अवस्था बिग्रदो भएकामा तथा करणी र हत्याका घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरे।

बिजुली बेचेरै देश धनी हुन्छ : नेता नेपाल
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेरै देश धनी हुन सक्ने बताएका छन्। जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औँल्याए।बंगलादेशले मात्र नेपालसित ४० हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ।गृहजिल्ला रौतहटको गरुडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले नेपालमा वार्षिक दुई अर्ब पर्यटक भित्रिन सक्ने सम्भावना रहेको पनि बताए।नेपालमा वर्षेनी आउने पर्यटकको संख्या अन्य पर्यटकीय देशहरुको तुलनामा कम भएकोले देशका नेताहरुले आपसी झगडा र मनोमालिन्यलाई छोडेर विकासतिर ध्यान दिए देशमा वर्षेनी दुई करोड पर्यटक ल्याउन सकिने उनको भनाई  छ। देशमा हिन्दूका आराध्य देव पशुपतिनाथ र जानकी मन्दिर रहेको, बौद्ध धर्मावलम्बीको लागि लुम्बिनी रहेको, पर्यटनको अपार सम्भावना रहेको तथा विश्वको दोस्रो ठूलो जलसम्भावना रहेको देशले ठूलो उपलब्धि हासिल गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।

४ वर्षमा ६ हजार प्रहरीद्वारा राजीनामा 
केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण आलोचित बनिरहेको नेपाल प्रहरीभित्र जागिर छाड्नेको संख्यामा बृद्धी भएको छ । पछिल्लो ४ बर्षको अबधिमा झन्डै ६ हजार जनाले जागिर छोडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २०७१ सालदेखि २०७४ सम्म ५ हजार ९ सय २५ जना प्रहरी कर्मचारीले विभिन्न बाहानामा सेवा त्यागेका हुन् । २०७१ मा १ एसएसपी, ६ डीएसपी, २० इन्स्पेक्टरसहित १ हजार ७ सय २३ जनाले जागिर छाडे भने २०७२ मा ३ डीएसपी, १९ इन्स्पेक्टर, १ सय ३ जना सईसहित एक हजार २ सय ५२ जनाले राजीनामा दिए । २०७३ मा एकजना डीएसपी र एसएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सईसहित १ हजार १ सय ६० जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्याङकले देखाउछ ।
  गत आर्थिक बर्ष मात्रै ३ डीआईजी, २ एसपी, १ डीएसपी, ५ जना इन्स्पेक्टरसहित १ हजार ७ सय ८१ जनाले राजीनामा दिए । चालु आर्थिक वर्षमा पनि जागिर छाड्ने क्रम बढ्दो रहेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो तीन महिनाको अवधिमा १ सय बढीले जागिरबाट राजिनामा दिएका छन् ।  यसरी जागिर छोड्नेको संख्यामा प्रहरी नायब निरीक्षक सई, सहायक निरीक्षक असई , हवल्दार र जवान तथा सहयोगी धेरै छन् । संगठनभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकन लगायतका कारण राजीनामाको संख्यामा बढोत्तरी भएको स्रोतले जनाएको छ । तर उनीहरुको राजीनामा पत्रमा भने सबैले व्यक्तिगत कारणले नै संगठनबाट राजीनामा दिनुपरेको उल्लेख गर्ने गरेका छन् ।  नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको हो । हाल नेपाल प्रहरीमा ७५ हजारको दरबन्दी छ । 

राजधानीमा आजदेखि तीन दिन प्रहरीको निःशुल्क बस
दसैंको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदै छ। प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो। प्रहरीका बस राजधानीका विभिन्न तीन रुटमा सञ्चालन हुनेछन्।प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
 
दुई महिनामा एक अर्ब ४१ करोडको चामल आयात
 कृषिप्रधान मुलुक नेपालमा चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा चामलमात्र एक अर्ब ४१ करोड रुपैयाँको आयात भएको छ । साउन र भदौ दुई महिनामा एक अर्ब ४१ करोड रुपैयाँको ६ करोड १४ लाख टन चामल आयात भएको भन्सार विभागको तथ्यांक छ ।यस्तै, यो वर्ष ४० करोड ६० लाख बराबरको १४ हजार ४०० टन गहुँ आयात भएको छ ।यसैगरी, भदौ मसान्तसम्ममा ६९ करोड ४९ लाख रकम बराबरको २८ हजार १०० टन मकै आयात भएको भन्सार विभागले जनाएको छ ।यस्तै, यस अवधिमा १७ करोड ६० हजार रुपैयाँ बराबरको ७ हजार टन चिउरा आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ ।यसैगरी, ७ क्विन्टल बीउजन्य वस्तुहरु आयात भएको विभागले जनाएको छ ।

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च
 दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो ।यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मुल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार दुई वर्षअघि मूल्य बढेर ५८ हजार पुगेर पुन: ४८ हजार रुपैयाँमा झरेको थियो । त्यसपश्चात बढ्न थालेको सुनको भाउ मंगलबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको हो । उनका अनुसार मंगलबार कारोबार भएको मूल्य सोमबारकै हो । मंगलबारदेखि सार्वजनिक बिदा भएकाले नयाँ दर तोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा सोमबारको तुलनामा मंगलबार मूल्य केही बढेको छ ।शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा थप ४ डलरले बढेको छ । यसबीचमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । महासंघको तथ्याङक अनुसार एक महिनाको अवधीमा प्रतितोला २ हजार रुपैयाँले बढेको छ । तथ्याङक अनुसार असोज १ गते ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । हाल ६० हजार रुपैयाँमा कारोबार भएको हो ।

राष्ट्रिय गौरवका विमानस्थल निर्माण सुस्त 
 बढ्दो हवाई चाप थेग्न नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलहरू बढाउनुपर्ने निक्र्योलमा नागरिक उड्डयन प्राधिकरण वर्षाैंअघि नै पुगे पनि काम भने गौतम बुद्ध विमानस्थलबाहेक अन्यत्र अघि बढ्न सकेको छैन । दुई दशकभन्दा अघिदेखि बनाउने भनिएको निजगढ विमानस्थल अहिले पनि अध्ययनकै विवादमा अल्झिएको छ भने २०३२ देखि बनाउन भनेर जग्गा अधिग्रहण गरिएको पोखरा विमानस्थलमा बल्ल काम सुरु भएको छ ।संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ, गौतम बुद्ध र पोखरा विमानस्थल निर्माणका क्रममा देखिएका समस्या र काम अघि बढ्न नसक्नाका कारण यतिखेर अध्ययन गरिरहेको छ । 

रिक्सामा सवार आठ जनाको मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो। दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो

सात प्रहरी अधिकारीको मृत्यु
 अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन् । स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।  प्रान्तीय राजधानी ऐबाक शहरका यात्रा गरिरेहका सुरक्षा अधिकारी एम्बुस आक्रमणमा परेका प्रहरी स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । अफगानिस्तानका आगामी अक्टोबर २० मा हुनगइरहेको संसदीय निवार्चनको क्रममा आतङ्ककारी समूहले हत्या हिंसा बढाएका छन् । यस निर्वाचनको लागि ५४ हजार अफगान सैनिक र प्रहरी अधिकारी तैनाथ गरिएको छ । 

प्यालेस्टाइनलाई राष्ट्रसंघले दियो मान्यता
 संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिने निर्णय गरेको छ । मंगलबार सन् २०१९ मा हुने ७७ विकासशील मुलुकहरुको बैठकमा प्यालेस्टाइनले पूर्ण सदस्यको रुपमा भाग लिन पाउने निर्णय गरिएको हो । राष्ट्रसंघको यस किसिमको निर्णयको विरुद्धमा अमेरिका, इजरायल र अष्ट्रेलियाले मतदान गरेका थिए । यद्यपि १४६ मुलुकहरुले भने त्यसको पक्षमा मतदान  गरेका थिए । १५ मुलुकहरुले अनुपस्थित थिए भने २९ मुलुकहरु मतदानमा सहभागी भएनन् । प्यालेस्टाइन वेस्ट बैंक, गाजा क्षेत्र र पूर्वी जेरुसलेमलाई मिलाएर आफ्नो राज्य बनाउने योजनामा रहेको छ । सन् १९६७ मा इजरायलले यो क्षेत्रमा आफ्नो अधिकार जमाएको थियो तर अहिलेसम्म उसले सो भूमि फिर्ता भने गरेको छैन । राष्ट्रसंघका लागि अमेरिकी दूतले आफूहरु प्यालेस्टाइनले पूर्णरुपमा विरोध गर्ने बताए । 

आँधीले पुर्याएको क्षतिबाट महासचिव गुटरेस दुःखी
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गरेका छन् ।  भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उनले मङ्गलबार एक विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् ।  महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट गरेका छन् । उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति हुनका साथै यसबाट दशौँ लाख नागरिक पनि प्रभावित भएका छन् । 

जर्मनी फ्रान्ससँग फेरि पराजित
सन् २०१४ को विश्व विजेता जर्मनीको ओरालो यात्रा जारी छ । गएराति जर्मनी रसिया विश्वकपको बिजेता फ्रान्ससँग २–१ ले पराजित भएको छ ।युईएफए नेशन्स लिग अन्तर्गतको समूह चरणको अन्तिम खेलमा पराजित भएपछि जर्मनी रेलिगेसनमा परेको छ ।खेलको १४ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा २ गोल खाएको हो । फ्रान्सलाई जिताउने क्रममा एट्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानले ६२ औँ मिनेटमा हेडबाट पहिलो गोल गरे । त्यसपछि ८२ मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै जर्मनीलाई स्तब्ध बनाए । यो खेलसँगै ७ अंक बटुलेको फ्रान्स र ३ अंक बटुलेको नेदरल्यान्ड्स युईएफए नेशन्स लिग अन्तर्गत लिग ए समूह १ बाट प्ले अफमा पुगेका छन् भने १ अंक बटुलेको जर्मनी रेलिगेसनमा परेको छ ।

विहान
अन्त्यमा ताप्लेजुङको मौसम सम्वन्धि जानकारी

आज विहानको ताप्लेजुङको न्यूनतम तापक्रम १२.६ डिग्री सेलसियस रहेकोे पुर्वि क्षेत्रिय हावापानि फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । आज सुर्योदय विहान ५ बजेर ५५ मिनेट  भएको थियो भने सुर्यास्त भरे साँझ ५बजेर २१ मिनेटमा हुनेछ ।

प्रतिकृया दिनुहोस

२०७५ असोज २९ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर

र्सघर्ष समिति गठन अस्थाई करार शिक्षकहरुको भेलाले ताप्लेजुङ जिल्लामा र्सघर्ष समिति गठन गरेको छ । गुणराज न्यौपानेको अध्यक्षतामा ९ सदसिय संर्घष समिति

तमोर हालखवर २०७५ असोज २७ गते शनिबार विहान ८ः३० वजे

बडादसैंको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै बडा दसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी

२०७५ असोज २५ गते विहीबार साँझ ६ बजेको तमोर हालखबर

फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु  पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।  पाँचथर र ताप्लेजुङको सिमानाको