२०७५ असोज २९ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर


र्सघर्ष समिति गठन
अस्थाई करार शिक्षकहरुको भेलाले ताप्लेजुङ जिल्लामा र्सघर्ष समिति गठन गरेको छ । गुणराज न्यौपानेको अध्यक्षतामा ९ सदसिय संर्घष समिति गठन गरेको हो । समितिको सचिवमा दुर्गा देवि वगाले रहनुभएको समितिका सदस्य रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । यो संर्घष समितिले अस्थाई करार शिक्षकहरुको हक र हितका विषयमा आवाज उठाउने सदस्य घिमिरेले जानकारी दिनुभयो । यो ७२ साल असोज ३ गते देखि पछि नियुक्ती भएका शिक्षकहरुको संर्घष समिति हो । 

सुरक्षा व्यवस्थामा कडाई 
तेह्रथुमको आठराई गाउँपालिकामा दशैँ तिहार जस्ता चाडपर्वका बेला प्रशासनले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । इलाका प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गर्दै चाडपर्वका बेला साँझ ७ बजेसम्म मदिरा सेवन गर्न तथा होहल्ला गर्न लगायत कानुनले बन्देज गरेका गतिविधि गर्न निषेध गरेको सहकर्मी प्रकाश धौलाकोटीले जानकारी दिनुभएको छ । इलाका प्रशासन प्रमुख कमल पनेरुका अनुसार गाउँपालिका क्षेत्रमा चाडपर्वका बेला साँझ ७ बजेपछि होटल व्यवसाय बन्द गर्न समेत आग्रह गरिएको छ । स्थानीय उद्योगी, व्यवसायी र सरोकारवाला सँग छलफल र समन्वय गरेर सम्भावित सुरक्षा जोखिमलाई कम गर्न त्यस्ता गतिविधिलाई रोक लगाइएको इलाका प्रशासन कार्यालय सक्रान्तिबजारले जनाएको छ ।
यसैबीच सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमले वडा दशैँ तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजार स्थित संघको आफ्नै कार्यालयमा आज भएको कार्यक्रममा बोल्दै वक्ताहरुले चाडपर्वलाई सद्भाव र भाइचारा विकासको पर्वको रुपमा मनाउन आग्रह गरेका छन् । 

झापाका चिया मजदुरले पाएनन् पारिश्रमिक, ‘दसैं मान्न समस्या’
झापाको गिरी बन्धु टी–स्टेट प्रालिमा कार्यरत् चिया मजदुरले दसैंको समयमासमेत कम्पनीले आफूहरुलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन् ।झापाको बिर्तामोड नगरपालिका–५ र शनीअर्जुन नगरपालिका–९ मा रहेको चिया बगानका मजदुरले सोमबार (आज)सम्म आफूहरुलाई एक रुपैयाँ पनि पारिश्रमिक नदिँदा दसैं मान्न समस्या भएको बताएका हुन् ।उनीहरुले काम गरेबापत कम्पनीले दिनुपर्ने मासिक पारिश्रमिक र दसैं खर्च केही पनि नदिएको गुनासो गरे ।सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकका लागि न्यूनतम् पारिश्रमिक तोकेपनि उनीहरुले पुरानै ज्यालासमेत पाएका छैनन् ।गिरी बन्धु टी स्टेट प्रालिमामात्र चिया टिप्ने करिब २०० मजदुर कार्यरत् छन् ।चिया मजदुरको आधारभूत पारिश्रमिक ६ हजार ४६९ र महँगी भत्ता ४ हजार ३१२ गरी मासिक १० हजार ७८१ रुपैयाँ पारिश्रमिक तोकिएको थियो ।

नारायणहिटीमा श्रीपेच र राजदण्डको प्रदर्शनी 
 नेपालका राजाहरुले लगाउने श्रीपेच सोमबार सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । उनले दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीक श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए ।इतिहासमा राजाहरुले राष्ट्रियता र एकीकरण आदिमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्न पाउनुपर्ने व्यवस्था भने तर्कसङ्गत नभएको बताए ।जनताबाट निर्वाचित हुने शासन व्यवस्था नै तर्कपूर्ण रहेको उल्लेख गर्दै उनले सोमबार श्रीपेच जनताका लागि प्रदर्शनी खुलाउनाले नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने स्पष्ट हुने बताए ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले विसं २०६२/६३ को राजनीतिक परिवर्तनपछि सङ्ग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको बताए ।पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई सङ्ग्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिए ।कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पुर्‍याउने संस्कृतिविद् डा. जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुङ्गानालगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रमपछि अनौपचारिक रुपमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले श्रीपेचमा अष्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँख जडित हुने जानकारी दिए । यसमा ७३० हीरा र दुई हजार ३७२ मोतीजडित रहेको छ ।


तिहारपछि माधव नेपाल पक्षका दुई मन्त्री थपिने, को हुँदैछ आउट ?
प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् । यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको छ ।अहिले भएका दुई जना मन्त्रीलाई हटाएर नेपाल पक्षका दुई जनालाई मन्त्री बनाउने ओलीको चाहना छ । यसअघिपनि मन्त्रीमण्डल पूर्नगठन गर्नेबारे नेकपाभित्र छलफल चलेकै थियो । तर, विविध कारणले हुन सकेको थिएन । अब भने तिहारलगत्तै ओलीले अहिलेका मन्त्रीहरुमध्येबाट दुई जनालाई विदा गर्ने मनशाय बनाएका छन् ।ओलीले विदा गर्ने मन्त्रीहरुको नाम भने अहिले नै तय भएको छैन । ओली निकट विशेष सुत्रले दिएको जानकारी अनुसार केही मन्त्रीहरुको क्रियाकलापबाट ओली सन्तुष्ट छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री माृतका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग प्रधानमन्त्री सन्तुष्ट छैनन् ।माधव पक्षबाट मन्त्री बन्नेमा स्थायी समिति सदस्य योगेश भट्टराई, घनश्याम भुषाल र सोम प्रसाद पाण्डेलगायतका नेताहरुको चर्चा चलेको छ ।

शाखा अधिकृतको नतिजा प्रकाशित
लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७४ माघमा र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न भएको थियो ।लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना उम्मेदवारहरुको गत भदौ १ देखि ९ गतेसम्म सूचना प्रविधि सीप परीक्षण परीक्षा र १८ देखि असोज २६ गतेसम्म सामुहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो ।न्याय सेवामा माग पद संख्या ८६ (न्याय समूहमा ४८, कानून समूहमा १० र सरकारी वकिल समूहमा २८) रहेकोमा यस वर्ष ६१ जना उम्मेदवारहरु सिफारिस भएका छन् ।सिफारिस भएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन् ।न्याय समूहमा १३, कानून समूहमा २ र सरकारी वकिल समूहमा १० वटा पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । जसमध्ये महिला तर्फ ११, आदिवासी/जनजाति तर्फमा ९, दलिततर्फ ४ र अपांग तर्फ १ पदमा उम्मेदवार सिफारिस हुन सकेनन् ।।

‘स्थानीय तहमा न्याय निरुपण गर्न दक्ष जनशक्ति आवश्यक’
 विज्ञहरुले स्थानीय तहलाई न्याय निरुपणका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठले स्थानीय तहलाई न्याय निरुपणका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किनारा लगाउनुपर्ने न्याय सम्पादनमा स्थानीय तह अन्तरगतको न्यायिक समितिलाई चुनौती रहेको उल्लेख गर्दै दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।न्यायाधीश श्रेष्ठले स्थानीय सरकार संचालन ऐनमा प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहका अध्यक्ष अथवा प्रमुखबाट हुने न्याय निरुपणको क्षेत्राधिकार बाझिएकोतर्फ पनि सम्बन्धित निकायलाई सचेत गराए ।
स्थानीय प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहको प्रमुख वा अध्यक्षबीचको न्यायिक क्षेत्राधिकारमा देखिएको विवादका कारण पनि स्थानीय तहको न्यायिक समितिको काम प्रभावकारी हुन नसकेको न्यायाधिश श्रेष्ठको भनाइ छ ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद रामकुमारी झाक्रीले स्थानीय तहको न्यायिक समितिलाई न्याय सम्पादनमा देखिएको चुनौती सामना हुने गरी दक्ष कानून व्यवसायीको व्यवस्था गनर्ं सरकारको गम्भीर ध्यानाकर्षण गराए ।उनले नागरिकलाई सहज हुने गरी स्थानीय तहमा व्यवस्था गरिएको न्यायिक समितिलाई काम गर्न आवश्यक संरचनाको व्यवस्था गर्न ढिलाई गर्न नहुनेपनि स्पष्ट पारे ।सांसद झाँक्रीले स्थानीय तहको न्याय सम्पादनका लागि व्यवस्था गरिएको न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन ढिला गरिए स्थानीय तहका गरीब जनता मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराए ।

नेपाली काँग्रेस संस्थापन इतर समूहको अलगै बैठक
नेपाली काँग्रेस संस्थापन इतर समूहको अलगै बैठक बसेको छ । सभापति शेरबहादुर देउवा पक्ष पेल्ने नीतिमा रहेको निश्कर्ष निकाल्दै पार्टीको विधानमा छलफल गरेको हो ।काँग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा बसेको बैठकमा विधानको विषयमा छलफल भएको बताइएको छ । नेपाल विद्यार्थी संघको विवाद, पार्टी सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधनको तयारी लगायतका विषयमा आफ्नो धारणा तय गर्न छलफल भएको काँग्रेस नेताले जानकारी दिएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, नविन्द्रराज जोशी, धनराज गुरुङ, दिलबहादुर घर्तीलगायतका नेताहरु सहभागी थिए ।नेविसंघको विधानलाई पार्टीले अनुमोदन गर्ने क्रममा केन्द्रीय समितिमा विवाद भएसँगै पार्टीमा थप ध्रुविकरण सुरु भएको छ । संस्थापन पक्षले बहुमतको आधारमा उमेर हद कायम गरेपछि चार शिर्ष नेताले फरक मत राखेका थिए । गत बिहीबारको लागि डाकिएको केन्द्रीय समितिको बैठकलाई संस्थापन इतर समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चित कालको लागि बैठक स्थगन गरिएको छ ।

दशैंमा पेट्रोलियम पदार्थ अभाव नदिन निगमले खटायो १० कर्मचारी तयारी
नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए । डिपोले आइतबार पनि पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उनले बताए ।पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उनले उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताए । 

स्वास्थ्य कार्यालय जिल्ला–जिल्लामा खुल्ने, जिम्मेवारीविहीन कर्मचारीले काम पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको संगठन संरचना तथा दरबन्दीको नयाँ संरचनाको ढाँचा तयार पारेको छ ।समितिले प्रदेश अन्तर्गतको जिल्लामा रहने प्रदेश जनस्वास्थ्य शाखा कार्यालय, स्वास्थ्य प्रवद्र्धन तथा तालिम केन्द्र, स्वास्थ्य साम्रगी तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला गरी ४ वटा निकायको संगठन संरचना र दरबन्दीको खाका तयार परेको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं संघीय व्यवस्थापन समितिका संयोजक डा. शुशीलनाथ प्याकुरेलको ७ सदस्यीय टोलीले आइतवार नयाँ संरचनाको खाका मन्त्रालयलाई बुझाएको छ ।
७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने 
समितिले तयार पारेको नयाँ संरचना अनुसार अब ७ वटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालिम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने छन् । ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय हुनेछ । यसअघि बनाइएको संरचनामा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । सो संरचना अनुसार प्रदेश नम्बर १, ५ र कर्णालीमा ६–६, प्रदेश नम्बर ३ र गण्डकीमा ५–५ वटा र सुदूरपश्चिम प्रदेशमा ४ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो ।

३५ दिनभित्र मेलम्चीको काम सम्पन्न 
मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमी बाँकी छ। सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ। गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो। ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ। दशैं र तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा एक महीनाभन्दा बढी समय लाग्ने बताइएको छ।

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु 
दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरू भत्किएका छन्। आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ। अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरूले बताएका छन्। कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरू बन्द भएका र मानिसहरू घरभित्रै रहेका छन्। त्यस्तै उक्त क्षेत्रमा सञ्चालित रेल सेवामा पनि अवरोध पुगेको सरकारी अधिकारीले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोन्कोसका सडकहरूमा ६ फिटभन्दा बढी पानी जमेको छ।

भारत: विमानको ढोका बन्द गर्न लाग्दा कर्मचारी भुइँमा
भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार बिहान सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको बोइङ-७७७ को उडानका लागि तयारी गर्दै थिइन्।सो घटनालाई दु:खद भन्दै एअर इन्डियाले एउटा विज्ञप्तिमा त्यसबारे अनुसन्धान हुँदै गरेको जनाएको छ।उसका अनुसार ती कर्मचारी बोइङ-७७७ को ढोका लगाउन लाग्दा भुइँमा खस्न पुगेकी हुन्।अस्पताल पठाउनुअघि उनलाई विमानस्थलमा चिकित्सकहरूले परीक्षण गरेका थिए।विमानस्थलका एक अधिकारीले समाचारपत्र द हिन्दूलाई ती कर्मचारी होसमै रहेकी, उनको दाहिने खुट्टाको हड्डी चर्किएको एवम् उनलाई अन्यत्र पनि चोट लागेको बताएका छन्। गत हप्ता दक्षिण भारतको त्रिचीबाट दुबईका लागि उडेको एअर इन्डियाको एउटा विमान धावनमार्गनजिकै रहेको एउटा पर्खालमा ठोक्किएको थियो।त्यस विमानमा १३० यात्रु र चालकदलका छ सदस्य थिए।

दुई कोरियाबीच कोरियाली प्रायद्वीपमा रेलमार्ग निर्माण सहमति
उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ ।कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो ।सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ । सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको सुरुआत गरिने पनि जनाइएको छ । दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको ‘योन्हाप’ समाचार समितिले जानकारी दिएको छ ।दुवै देशका प्राविधिकहरु र रेलसेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो ।रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि सुुरुमा दुई कोरियाबीच पत्राचार भएको जनाइएको छ । 

हाङपाङमा जारी अन्तर क्लब स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता अन्र्तगत आज ३ खेल
आठराई त्रिवेणी गाउँपालिका वडा नंं ३ हाङपाङमा जारी अन्तर क्लब स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता अन्र्तगत आज ३ खेल भएका छन । आज भएको पहिलो खेलमा सिर्जनशिल युवा क्लब ढुङ्गेसाघँुले रमिते प्रगतिशील युवा क्लब फुलबारी लाई २–१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा दिपज्योती युवा क्लब हाङ्पाङले तमोर मैवा युवा क्लब खाम्लुङलाई ३–१ गोल अन्तले हराएको छ भने तेस्रो खेलमा आयोजक मुनलाईट स्पोर्टीङ युवा क्लबले बुल्म फ्लावर युवा क्लब चाँगे लाई १–० ले स्तब्ध बनाएको छ । खेलको फाईनल कार्तिक १ गते हुनेछ । प्रतियोगितामा पुरुष तर्फ प्रथम र द्धितीय हुनेले क्रमश ७५ हजार ४५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने महिला तर्फ प्रथम र द्धितीय हुनेले क्रमश २० हजार र १२ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने मुनलाईट स्र्पाटीङ युवा क्लबका अध्यक्ष अशोक आङबुहाङले जानकारी दिनुभयो ।
 

 स्थानीय पर्यटन प्रवर्द्धनका लागि कुम्मायक गोल्डकप हुने
 स्थानीयस्तरको पर्यटन प्रवद्र्धनको लागि पाँचथरको कुम्मायकमा कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।  स्थानीय कुम्मायक–४ मा रहेको पृथ्वी माविको खेल मैदानमा आउँदो कार्तिक ९ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पाँचथर जिल्लाका एक नगरपालिका र सातवटा गाउँपालिका गरि आठ टिमले सहभागिता जनाउने आयोजक कुम्मायक स्र्पाेटिङ क्लबले सोमबार फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । करेण्ट चाउचाउको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजारसहित ट्रफि र दोस्रो हुने टिमले नगद ५५ हजार सहित ट्रफि पाउने आयोजकले जनाएको छ । यस्तै विधागततर्फ बेष्ट किपर, सर्वाधिक गोलकर्ता, राइजिङ स्टारलाई जनही ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद १० हजार दिइनेछ । प्रतियोगिताबाट यस क्षेत्रमा रहेको पूर्वको धार्मिक आस्थाको धरोहर कुम्मायक–कुसायक मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रमा विकास गर्न थप टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

पोखरा प्रिमियर लिग क्रिकेटको खेलतालिका सार्वजनिक
 पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने सो प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन खेल्नेछन् ।विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी ६ टिम सहभागी हुने प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।पहिलो दिन एकमात्र खेल हुनेछ । अरु दिन लिग चरणमा हरेक दिन दुई खेल हुनेछन् ।पीपीएलका लागि टिम घोषणा, ‘मार्की’ खेलाडी घोषणा र खेलाडी ‘अक्सन’ यसअघि नै भइसकेको छ ।पोखरालाई क्रिकेटको तटस्थ स्थल बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ ।
 
वेलुकी 
अन्त्यमा ताप्लेजुङको मौषम सम्वन्धि जानकारी ।।

आज विहानको ताप्लेजुङको न्युनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको थियो भने दिउसोको अधिकतम तापक्रम २२.५ डिग्री सेलसियस रहेको  पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यलय ताप्लेजुङले जनाएको छ । आज सुर्योदय विहान ५ बजेर ५४ मिनेटमा भएको थियो सुर्यास्त अघि साँझ ५ बजेर २३ मिनेटमा  भएको छ ।


 

प्रतिकृया दिनुहोस

इटालीमा अाँधीपछि अाएकाे बाढीकम एकै परिवारका ९ जनासहित १२ जनाकाे मृत्यु

इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका ९ जनासहित १२ जनाको ज्यान गएकाे छ ।  यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण

‘पत्रकार खशोग्गीको शव टुक्रा–टुक्रा पारेर एसिडमा जलाइयो’

टर्कीका वरिष्ठ अधिकारी यासिन आकतायले पत्रकार जमाल खसोग्गीको शव काटेर टुक्रा–टुक्रा पारी एसिडमा हालिएको हुनसक्ने बताएका छन् ।  अहिलेसम्म

मलेसिया रोजगारी खुल्दै, यस्तो भयो दुई देशबीच समझदारी

काठमाडौं । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आज(आइतबार) काठमाडौं आउँदैछन् । नेपालीका लागि ६