२०७५ असोज २३ गते मंगलबार साँझ ६ बजेको तमोर हालखबर


झापामा चाडपर्व लक्षित सुरक्षा योजना : ८ सय ३७ जना प्रहरी परिचालित
दशैं, तिहार लगायत ठूला चाडपर्वलाई लक्षित गरी झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले झापामा विशेष सुरक्षा योजना तय गरि लागु गरिएको हो । झापामा चाडपर्वमा शान्ति सुरक्षालाई भरपर्दो बनाउन ६२ वटा प्रहरी इकाईबाट १ सय ६९ स्थानमा ८ सय ३७ जना प्रहरी परिचालन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै चार स्थानमा ७० जना रिजर्भ, स्टाईकिङ्गमा पन्ध्र, २३ स्थानमा मोबाइल गस्ती, पाँच स्थानमा अनुगमन गस्ती, ४५ वटा मोटरसाईकल गस्ती र एघार स्थानमा हुने पैदल गस्तीमा ५५ जना प्रहरी परिचालन गरिएको छ । बैङ्क र वित्तीय संस्था, मुख्य बजार क्षेत्रमा निगरानी र अनुगमन, बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै कुनै अप्रिय घटना हुन नदिन प्रहरीलाई चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । त्यस्तै, सीमावर्ती क्षेत्रबाट हुने अपराधिक गतिविधिलाई निष्तेज पार्नका लागि सीमावर्ती क्षेत्रमा पनि गस्तीलाई २४ सैं घण्टा परिचालन गरिएको छ ।सीमा नाकाबाट हुने चोरीतस्करी, अवैध ओसारपसार र आपराधिक गतिविधि रोक्न भारतीय सुरक्षाकर्मीसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरिएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । अपराधिक क्रियाकलाप माथि नियन्त्रण गर्ने उद्देश्यबाट प्रहरी अहोरात्र खटेकाले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनेमा प्रहरीको प्रतिबद्धता छ । चाडपर्वमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएकोले कुनै पनि किसिमको चिन्ता नलिन र सुरक्षा व्यवस्थाप्रति सबैलाई विश्वस्त हुन पनि प्रहरीको आग्रह छ ।

चाडपर्वभन्दा दुई महिना अघिदेखि मूल्यवृद्धि गर्न नपाइने
संसदको अर्थ समितिले ठूला चाडपर्व आउनुभन्दा २ महिना अघिदेखि कुनै पनि दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गर्न नपाउने प्रणालीको व्यवस्था गर्न सरकारलाई निदेृशन दिएको छ ।  दसैं, तिहार, छठलगायतचाडपर्वको समयमा हरेक वर्ष मूल्य वृद्धिको समस्याले नागरिक आक्रान्त भइरहने सन्दर्भमा यी चाडपर्व शुरु हुनुभन्दा कम्तिमा २ महिना पहिलेदेखि नै आधारभूत सामग्रीको अस्वभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने प्रणालीका लागि आवश्यक कानुनी व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । चाडपर्वको समयलाई मध्यनजर गरी तत्काल सुपथ मूल्य पसलको अवधि र क्षेत्रगत दायरा विस्तार गरी समयमा गुणस्तरीय, सुलभ र सुपथ मूल्यमा वस्तु वा सेवाको आपूर्तिको व्यवस्था सुनिश्चित हुने गरी कार्य गर्न गराउन पनि अर्थ मन्त्रालयलाई अर्थ समितले निर्देशन दिएको छ । 

तिहारअघि नलाग्ने भयो प्रदेश १ को राजधानी र नामको टुंगो, प्रदेश सभा अधिवेशन अन्त्य 
प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको स्पष्ट पारे ।उनले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गरे ।उनले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गरे ।प्रदेशसभाको तेस्रो अधिवेशनको शुरूमै राजधानी र नामकरण टुङ्गो लगाइने बताए ।प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा सो प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राखे ।सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिए ।प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता औंल्याए ।

विराटनगरका स्थानीय तहका जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्न माग
स्थानीय तहका जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्न विराटनगरका सर्वसाधारणहरुले माग गरेका छन् । जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनिरहदा स्थानीयहरुले उनीहरुको क्रियाकलाप र व्यवहारबाट सन्तुष्ट हुन नसकिएकोले सम्पत्ति सार्वजनिक गर्न चुनौती दिएका हुन् ।स्थानीय सरकारका जनप्रतिनिधिहरुको क्रियाकलाप र व्यवहार निष्पक्ष र पारदर्शी बनाउन संघीय सरकारको जस्तै उनीहरुको सम्पत्ति पनि सार्वजनिक गर्नुपर्ने माग स्थानीयको छ । भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनसन्धान आयोग ऐन बमोजिम जनप्रतिनिधिहरुले प्रत्येक आर्थिक वर्ष बितेको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनु पर्दछ ।कर्मचारीहरुको सम्पत्ति विवरण केन्द्रमा पठाउनुपर्ने प्रावधान भएपनि जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सम्बन्धित स्थानीय तहमा नै राख्ने र सम्पति विवरण बुझाउनेको नामावली मात्र सम्बन्धित निकायमा पठाउने गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ । 

तीन तहका सरकारबीच काम गर्दा कुनै अलमल छैन : उपप्रधानमन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीन तहका सरकारबीच काम गर्दा कुनै अलमल नरहेको बताएका छन् ।संविधानले सबैको अधिकार क्षेत्रलाई किटानी गरिदिएकाले काम गर्नका लागि अब कुनै अलमल नरहेको उनले बताए ।संविधानले दिएको अधिकारअनुरुप राज्य सन्चालन गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ ।मंगलबार राजधानीको बालुवाटारस्थित शिवपुरी स्कुलको ७०औं वार्षिकोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले संविधानले व्यवस्था गरेअनुरुप राज्यका सबै अंगले काम गरिरहेको बताए ।रक्षामन्त्री पोखरेलले शिक्षा नीतिमा आमूल परिवर्तन आउने भन्दै हिजोसम्मको अव्यावहारिक शिक्षालाई परिवर्तन गर्दै व्यावहारिक र व्यावसायिक शिक्षामा सरकारले जोड दिने लक्ष्य राखेको बताए ।७० प्रतिशत लगानी व्यावसायिक र प्राविधिक क्षेत्रमा गरिने उनको भनाइ थियो ।

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायधिसको आग्रह ।। 
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ ।  संवैधानिक तथा कानून पत्रकार मञ्चले आज काठमाण्डौमा बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसर पारेर गरेको शुभकामना आदनप्रदान कार्यक्रममा प्रधानन्यायधिसले विचाराधीन मुद्दाका बिषयमा समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको भन्दै आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्नुभयो ।  उहाँले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायलयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानून व्यवसायी र सञ्चारमाध्यमको सहयोगको आवश्यकता भएको बताउनुभयो ।  न्यायलयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायलयले काम गरिरहेको समेत स्पष्ट पार्दै प्रधानन्यायाधीश मिश्रले प्रेसलाई आफूले सम्मान गर्ने र न्यायलयमा पनि प्रेसलाई बाटो खुला छ भन्नुभयो ।

रामवीरको राजीनामा, बामदेबले चुनाब लड्ने पक्का ।।
नेकपाका नेता वामदेव गौतमले प्रतिनिधिसभाको सदस्यको लागि काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाब लड्नुहुने भएको छ । काठमाण्डौ ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमकै लागि राजीनामा दिनुभएको छ । आफूले गरेका केही सर्तहरू पार्टीले पूरा  स्वीकार गरेपछि  सांसद रामवीरले पार्टी नेतृत्वसमक्ष सांसद पदबाट राजीनामाको पत्र बुझाएको बताउनुभएको छ । रामवीरको राजीनामासँगै बर्दियामा पराजित भएका गौतमले क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने निश्चित भएको हो । यसअघि वामदेवको लागि  डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुले राजीनामा दिन सहमत भएका थिएनन् । रामवीरले नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनुपर्ने सर्तलाई पार्टी नेतृत्वले स्वीकार गरेपछि वामदेवको चुनाव लड्ने बाटो खुलेको हो ।  रामवीर ०७४ को प्रतिनिधि सभाको चुनावमा भने उनले  राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

नेकपाको चियापन कात्तिक १० गते
नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको दसैं, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौंको भृकुटीमन्डपमा चियापान गर्ने भएको छ ।पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ ।पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नम्बर–३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।विगतमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले अलग–अलगरुपमा चाडपर्वका अवसरमा चियापनको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना हुन लागेको हो ।यसैबीच, पार्टीको मातहतका कमिटीको एकतालाई पूर्णता दिने, सरकार र पार्टीको समीक्षा गर्नेलगायतका विषयमा छलफल गर्न बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ ।सो बैठकले पार्टीले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्नेछ । 

देशभरका मालपोत तथ्यांक एकीकृत प्रणालीमा लगिँदै 
सरकारले मालपोत कार्यालयहरुमा सुरु गरेको जग्गा अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) लाई यो आर्थिक वर्षभित्र देशभर विस्तार गर्ने भएको छ ।आगामी असार मसान्तभित्र ७७ वटै जिल्लामा यो प्रणाली लागू गर्ने सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ ।भूमिसुधार तथा व्यवस्थापन विभागले भदौ ०७२ देखि मालपोत कार्यालयमा एकीकृत अनलाइन रजिष्ट्रेसन प्रणाली सुरु गरेको थियो । कागजी तथ्यांकका ढड्डाहरु राख्ने परम्परागत अभ्यास विस्थापन गर्ने सिलसिलामा उक्त प्रणालीको थालनी मालपोत कार्यालय कलंकीबाट भएको थियो, । पछि यसलाई विस्तार गरेर थप १९ वटा कार्यालयमा पुर्‍याइएको थियो । अब आगामी पुस मसान्तसम्म यो प्रणाली थप २२ वटा कार्यालयहरुमा लागू हुनेछ । बाँकी कार्यालयमा पनि यसै आर्थिक वर्षदेखि लागू हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।


बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ६ को अवस्था गम्भीर
बझाङमा एक यात्रीवहाक जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।मंगलबार बिहान बझाङको बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जिप बुंगल नगरपालिकाको वडा नम्बर–५, मिणीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।घटनास्थलमै कन्चनपुर, बेदकोट नगरपालिका–५ बस्ने ६५ वर्षीया विष्नादेवी बोहरा र कैलालीको घोडाघोडी नगरपालिका–५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको थियो ।उपचारकाक्रममा कन्चनपुरको बेदकोट नगरपालिका–५ का ३५ वर्षीय प्रेमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेका ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।गम्भीर घाइते बुंगल नगरपालिका–६ का नरेन्द्र कुँवर र कृष्ण कुँवर तथा बुंगल नगरपालिका–८ का धीरेन्द्र बोहरालाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ ।यस्तै, बेदकोट नगरपालिका–५ की माया बोहरा, चन्द्रसिंह बोहरा र चालक रणबहादुर खातीको देउरा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।जिप दुर्घटनाको कारण खुल्ने सकेको छैन ।

कैलालीमा ट्रयाक्टर दुर्घटना, दुईजनाको मृत्यु
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–२, लालमोटिया डाँडानजिक एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका–१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्रयाक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरिया रहेका छन् ।फलेबिसौनाबाट ढुंगा लोड गरेर बौनियाँतर्फ आउँदै गरेको से१त ३९६९ नम्बरको ट्रयाक्टर मंगलबार मध्याह्न १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएका छन् । घाइते कठरियाको बौनियाँबजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए

जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ 
सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् ।करणीको आरोपमा दुहबी नगरपालिका-८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ स्थित गोधुली होलटमा लगेर धाक-धम्की देखाई करणी गरेको भनी पिडितले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

बेहोस बनाइ लुटपाट गर्ने दुईजना प्रहरीको फन्दामा
जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा व्यक्तिहरुलाई बेहोस बनाइ लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ ।प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी मकवानपुरको थाहा नगरपालिका घर भएका ४९ वर्षीय हरि गोले र कास्की, माछापुच्छ्रेका ‘गोपाल’ भनिने कालु परियारलाई सार्वजनिक गरेको हो ।उनीहरुको साथबाट बेहोस बनाउने औषधि, इन्जेक्सन, टर्च, जुसको बोतललगायत बरामद गरेको प्रहरीले जनाएको छ ।

बालिका तथा महिला हिंसा विरुद्ध रेडियो बहस हुँदै ।।
सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् । किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारि गराउनेछन् । जसमा ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् जस अनुसार देशभरि ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् । सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुने भएको हो । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित हुनेछ । बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियोमार्फत् यो गल्र्स टेकओभर गर्न लागिएको हो । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ । टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताउनु भयो । गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसा विरुद्ध आवाज उठाउनु  आफैमा नयाँ भएको बताउनुभयो । 


अफगानिस्तामा १५ भन्दा बढि सुरक्षाकर्मी मारिए
अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् ।आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबरहरु प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ ।तथापी, एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताएका छन् । उनले भीडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरु धेरै घाइते भएको दाबी गरे । तालिबानले भने आक्रमणका बारेमा केही बताएको छैन ।

आमा बुवाको हत्या गरी छोरी अपहरण
भारतको उत्तरप्रदेशको कनौज जिल्लाको गुरसहायगन्जमा अज्ञात समूहले एक दम्पतीको हत्या गरी घरमा लुटपाट गरेका छन्। लुटेराको समूहले सोमबार साँझ चक्‍कु प्रहारी गरी दम्पतीको हत्या गरेका हुन्। हत्यापछि लुटेराको समूहले ती दम्पतीकी १८ वर्षीया छोरी स‌ंगीताको समेत अपहरण गरेका छन्।चक्‍कु प्रहारबाट ४५ वर्षीय रमेश चन्दको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएकी उनकी श्रीमती उषा देवीको उपचाराक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अष्ट्रेलियाले आप्रवासीलाई सहरमा वास नदिने, ग्रामीण इलाकामा बस्नैपर्ने 
अस्ट्रेलिया सरकारले प्रमुख शहरहरूमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरूलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरूमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ। विशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ। यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो। सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो, जनसंख्यामन्त्री अलान टजले भनेका छन् । अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरूमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो । बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए।

युक्रेनको हतियार भण्डारमा विस्फोट, १० हजार मानिस भागे 
युक्रेनमा रहेको एक हतियार भण्डारमा विस्फोट र आगलागी भएको छ । यसले गर्दा हजारौं मानिसहरू उक्त क्षेत्रबाट पलायन हुन बाध्य भएका छन् । अधिकारीहरूले यो सार्वजनिक सम्पत्तिको विध्वंसको घटना भएको बताएका छन् । सामाजिक सञ्जालमा आएका भिडियो फूटेजमा चेर्निहिभ क्षेत्रको इच्न्यामा विस्फोट र आगोका दृश्य देखिएका छन् । हतियार भण्डार रहेको क्षेत्रबाट लगभग १० हजार मानिसलाई हटाइएको छ । उक्त क्षेत्र राजधानी कीएभबाट १७६ किलोमिटर पर उत्तरपूर्वतिर रहेको आपतकालीन सेवाहरूले जनाएका छन् ।  घटनामा कोही पनि हताहती भएका छैनन् । जेनेरल स्टाफका डेपुटी कमान्डर रोड्योन टाइमोशेन्कोले एक पत्रकार सम्मेलन गरेर डिपोवरिपरि चारवटा विस्फोटबाट घटना शुरू भएको जानकारी दिए । 

भुटानविरुद्ध नेपाल ११८ रनले विजयी 
आईसीसी विश्व टि–ट्वान्टी एसिया पूर्वीक्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११८ रनको जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा भुटानलाई १५१ रनको चुनौति दिएकाे थियो। यसअघि नेपालले दुई खेल ८ विकेट र एक खेल १४० रनको जित निकालेको थियो


वेलुकी 
अन्त्यमा ताप्लेजुङको मौषम सम्वन्धि जानकारी ।।

आज विहानको ताप्लेजुङको न्युनतम तापक्रम १३.६ डिग्री सेल्सियस रहेको थियो भने दिउसोको अधिकतम तापक्रम २३.६ डिग्री सेलसियस रहेको  पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यलय ताप्लेजुङले जनाएको छ । आज ताप्लेजुङमा १ मिलिमिटर वर्षा भएको छ ।आज सुर्योदय विहान ५ बजेर ५० मिनेटमा भएको थियो सुर्यास्त अघि साँझ ५ बजेर ३० मिनेटमा  भएको छ ।
 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा वेथिती मौलाएको भन्दै सिडिओ समक्ष ध्यानाकर्षणपत्र

ताप्लेजुङ स्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका