२०७५ असोज २२ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर

तोक्पेगोला सेवा समाजद्धारा बल्ड क्यान्सरबाट पिडीत सोनाम शेर्पालाई आर्थिक सहयोग
तोक्पेगोला सेवा समाज ताप्लेजुङले बल्ड क्यान्सरबाट पिडीत जिल्लाको मेरीङदेन गाउँपालिका वडा नं. ६ निवासी पेम्बा शेर्पाका छोरा सोनाम शेर्पालाई आर्थिक सहयोग गरेको छ । सदरमुकाममा एक कार्यक्रमका विच सो समाजका अध्यक्ष सोनाम डोमा शेर्पाले विरामी बच्चाको मामा सविन शेर्पालाई २० हजार ७ सय २७ रुपैया नगद हस्ताण्तरण गनुभएको तोक्पेगोला सेवा समाज ताप्लेजुङका सचिव मिङ्मा शेर्पाले जानकारी दिनुभयो । ९ बर्षीय सोनाम भानुजन माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका छन । परिवारको आर्थिक अवश्था कमजोर भएकाले परिवारले आर्थिक सहयोगको अपिल समेत गरेको छ । विरामी बच्चाको विगत दुई महिना यता काठमान्डौको कान्ती बाल अस्पतालमा उपचार भईरहेको पारिवारले जानकारी दिएको छ 


निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै थाल ठटाएर प्रदर्शन ।।
कञ्चनपुरका बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै काठमाडौँमा आज थाल ठटाएर प्रदर्शन भएको छ । युवा नर्स सञ्जालको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरिएको हो । प्रदर्शनकारीहरूले निर्मला हत्या प्रकरणका दोषीलाई अझैँ पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्दै नारा लगाएका थिए । सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको प्रतिवेदन हिजो सार्वजनिक भएको थियो । 


छानविन समितिको सिफारिसमा थप दुई प्रहरी निलम्बित ।।
प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै थप दुई प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयबाट गठित छानविन समितिको सिफारिसमा थप दुई जनालाई निलम्बन गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापाले जानकारी दिनुभयो । निलम्बित हुनेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत घटनास्थल अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका छन् । उनीहरुले घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्बन गरिएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । यसअघि तत्कालिन जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) डिल्लीराज विष्टसहित ६ जनालाई निलम्बन गरिएको थियो ।
। 


इलामको पूर्वी भारतीय सीमा क्षेत्रमा सशस्त्रको ‘बीओपी’ क्याम्प बस्ने
सीमा सुरक्षाका लागि इलामको पूर्वी भारतीय सीमा क्षेत्रमा सशस्त्रको बीओपी क्याम्प बस्ने भएको छ ।सीमा क्षेत्रको सुरक्षा, अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उदेश्यले इलामका चार स्थानमा बोर्डर ‘अब्जरभेसन पोष्ट’ (बीओपी) राख्ने माग गरिएको थियो । चारमध्ये एक स्थानको मागलाई मन्त्रिपरिषद्को निणर्यबाट पारित गरिएसँगै बीओपी क्याम्प बस्ने भएको हो ।इलामका छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बीओपी क्याम्पको माग गरिएको जिल्ला सुरक्षा समिति इलामले जनाएको छ । सरकारको नीति अनुरुप तत्काल इलामका ४ स्थानमध्ये पशुपतिनगरमा ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बीओपी) रहने छ । यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बस्नेछन् । सुरक्षालाई थप मजबुद बनाउन अन्य स्थानमा पनि पुनः सुरक्षा संयन्त्र माग गरिने बताइएको छ  ।

झापाका गाउँमा जनप्रतिनिधि आफै ठेकदार
निर्वाचित जनप्रतिनिधिले गरेको कामप्रति झापाका स्थानीय राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । २० वर्षसम्म जनप्रतिनिधिविहीन भएर चलेको स्थानीय तहलाई १३ महिना अघि कार्यभार सम्हालेका जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य र अधिकारको बारेमा जानकार नभएप छि राजनीतिक दल उनिहरुप्रति आक्रोसित भएका हुन् । जनप्रतिनिधिले कार्यभार सम्हालेको तेह्र महिनापछि जिल्ला समन्वय समिति झापाले पहिलो पटक स्थानीय राजनीतिक दलसँग आइतबार समन्वय समितिको सभाहलमा राय सुझाव लिएको छ । कार्यक्रममा विभिन्न दलहरुले आ–आफनो धारणामा यस्तो गुनासो पोखेका थिए ।झापाका ८ नगर र ७ ओटा गाउँमा अधिकाँश जनप्रतिनिधि नै ठेकदार बन्ने, आफु निकटका व्यत्तिलाइ योजना पारेर कमिसन लिने, उपभोक्ता समिति गठनमा आफ्नो पहुँच देखाउने, कर बढाएर विलासिताका वस्तु खरिद गर्नेलगायतका दर्जनभन्दा बढी कामप्रति सन्तोषजनक नभएको राजनीतिक दलहरुको आरोप छ । जनप्रतिनिधिले एकलौटी तवरले काम गरिरहेको नेपाली काङ्गे्रसका भद्रपुर उपसंयोजक मनप्रसाद कोइरालाले बताए । शक्तिशाली सरकारले नाताबादबाट काम गरेकोमा उनले आपत्ति जनाए । जनप्रतिनिधिले काम विगारेमा कारबाही हुने अङ्कुश नलगाएका कारण मनोमानी बढदै गएको साविक एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले जनाए । क्षेत्राधिकार अन्यौल भएकोले समेत स्थानीय तह सञ्चालनमा कठिनाइ आएको उनले बताए ।

अरुण तेस्रोको बिजुली सात जिल्ला हुँदै भारत लगिने
मुलुकको नै बहुचर्चित अरुण तेस्रो जलविद्युत्त परियोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुदै भारत लगिने भएको छ ।बहुचर्चित परियोजनाले संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहतरीबाट भारत पुर्‍याउने तयारी भएको सतलज कम्पनीले जनाएको छ । विद्युत्त उत्पादन स्थल दिदिङको पुखुवाबाट ट्रान्समिसन लाइन सिधैँ हाइटेन्सन भारत पुर्‍याइने तयारी भएको सतलज कम्पनीले जनाएको छ ।कम्पनीको अनुसार, ट्रान्समिसन लाइनको नक्साकंन तयारी भए पनि हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरणको काम भने बाँकी रहेको छ । संखुवासभामा निर्माणधीन बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत परियोजनाको अहिले सडक निर्माण र स्तरोन्नती, ड्यामसाइड, पावरहाउस र सुरुङ मार्ग निर्माण लगायतको काम धमाधम भइरहेको छ ।संखुवासभाको मकालु गाउँपालिकामा–५, नुमको फ्याक्सिन्दामा ड्यामसाइड निर्माण भइरहेको छ भने पावरहाउस चिचिला गाउँपालिका अन्तर्गत दिदिङको पुखुवामा निर्माण भइरहेको छ । ट्रान्समिसन लाइनले नेपालका ७ वटा जिल्लामा ५ सय १ टावर रहने नक्सांकन तयार भएको भारतीय सतलज कम्पनीका डयूटी जनरल मेनेजर विक्रम मोदगिलले बताउनुभयो । 

शिक्षा मन्त्रालय र राहत शिक्षकबीच ३ बुँदे सहमति
स्थायी गर्ने नीतिगत प्रावधान राख्न माग राख्दै आन्दोलित बनेका सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ ।चार बुँदे माग पेश गर्दै देशभरका करिब ४० हजार राहत शिक्षक आन्दोलित भएका थिए। सोमबार शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा सहमति भएको हो।केन्द्रका महानिर्देशक बावुराम पौडेलकाअनुसार नेपाल राहत शिक्षक केन्द्रिय समितिसँग मन्त्रालयका वार्ता समितिका संयोजक तथा सहसचिव सुर्यप्रसाद गौतमको टोलीले वार्ता गरेको थियो। राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको पौडेलले जानकारी दिए।आइतबार राहत शिक्षकहरुले पढाउन छाडेर राजधानीमा प्रर्दशन गरेका थिए। शिक्षकहरु आन्दोलित बनेपछि वार्ता र सहमतिमा आउन पत्राचार गरेका थियो।

चार महिनादेखि तलब नपाएपछि विराटनगरमा शिक्षकहरु आन्दोलित
विराटनगर  चार महिनायता तलब नपाएको भन्दै काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।आन्दोलनमा उत्रिएका शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुले तालाबन्दी गरेका हुन् ।विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा १९ जना शिक्षक काजमा खटिएका छन् । चार महिनादेखि तलब नपाएका कारण आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताए । 

तल्लाे तहकाे एकताबारे नेकपाकाे बैठकमा सहमति जुटेन
नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न मुलुकसँगको द्वैपक्षीय सम्बन्ध विस्तारसमेत भएको जानकारी दिनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण, वरिष्ठ नेता माधवकुमार नेपालको चीन तथा घानाको भ्रमण र प्रवक्ता श्रेष्ठको नेतृत्वमा भएको चीन भ्रमणबारे अवगत गराइएको थियो । 

माधव नेपालको असहमति पत्र नेकपाको सचिवालयमा पेश
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ ।सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए ।
नेकपाको सचिवालय बैठक पर्सि बस्नेगरी स्थगित ।।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पर्सि बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको नेता झलनाथ खनालले सीआईएनसँग बताउनुभयो । तल्ला कमिटीहरूको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे आज सामान्य छलफल भएको नेता खानालले जानकारी दिनुभयो । पर्सि बिहान फेरि नेकपाको बैठक बस्नेछ । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले आफ्ना विदेश भ्रमण र प्रदेशको नेतृत्व चयनका बारेमा जानकारी गराउनु भएको थियो । हिजो बस्ने भनिएको नेकपाको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कार्यव्यस्तताको कारणले आजको बोलाइएको थियो । 

योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तयार ।।
सरकारले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तयार गरेको छ । राष्ट्रिय किसान आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यविधि तयार भएको जानकारी दिए पनि कार्यविधिमा उल्लेख भएको व्यवस्थाका बारेमा भने कुनै जानकारी दिइएको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्यविधि तयार पारेको हो । पेन्सन कार्यक्रमभित्र किसानलाई सहुलियतरूपमा मल, बीउबिजन, नगद अनुदान, बीमालगायतका  क्षेत्रलाई सम्बोधन हुने जनाइएको छ । २०७३ साल माघ ६ गते आयोग गठन भएको थियो । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानलाई परिचयपत्र वितरणपछि के कस्ता सुविधा प्राप्त गर्न सक्नेछन् भन्ने विषय कार्यविधिले सम्बोधन गरेको दावी गर्नुभयो । आयोगका अनुसार कार्यविधि  स्वीकृतिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयमा पठाइएको छ । 

नेविसंघमा उमेरहद विवाद, असन्तुष्ट पक्ष भन्छ- पेलाइको पराकाष्ठा
नेपाली कांग्रेसको संस्थापन इतर समूहले भ्रातृ संगठन नेविसंघमा फेरि कब्जा जमाउन संस्थापन पक्षले उमेर हदको प्रावधान राखेको आरोप लगाएको छ । उमेर हदको प्रावधान नराख्दा नेविसंघको नेतृत्व खोसिने डरमा संस्थापन पक्षले जबरजस्ती ३२ वर्षीय उमेर हदको निर्णय गरेको उनीहरुको भनाइ छ । तर, संस्थापन पक्षले ११ औं महाधिवेशन अगाडि नै सर्वसम्मत ढंगबाट उमेरको हद लगाउने निर्णय भइसकेकाले विधानमा उमेर हदको प्रावधान राख्न निर्णय गरेको स्पष्ट पारेको छ संस्थापन इतर समूहले भने नेविसंघको विधान अनुमोदन गर्न बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको एउटा धारामात्रै पारित हुनु स्वाभाविक नभएको टिप्पणी गरेको छ । नेविसंघको विधान अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने उसको भनाइ थियो ।   

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित ।।
नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । गएराति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेरसम्बन्धी व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको हो । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औं महाधिवेशनदेखि कायम छ । नेविसंघमा प्रमुख विवादकारूपमा देखिएको व्यवस्था टुंगिएसँगै सङ्घको १२औं महाधिवेशन गर्ने बाटो खुलेको छ । नेविसङ्घको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा सकिएर तीन महिना समयावधि थपिएको छ । सङ्घको संशोधित विधानबारेमा काँग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

कानुनमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्नुहोस्–विज्ञ
विज्ञहरुले कानुन निर्माणमा देखिएका जटिलता  हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका छन् ।कानुनविद् काशीराज दाहालले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिनु भएको हो । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले कानुन निर्माणका लागि आम नागरिकको धारणा लिन सकिनेतर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभयो ।समितिले ऐन निर्माण तथा कार्यान्वयन सम्बन्धमा छलफल गर्न दाहाललाई समितिको बैठकमा बोलाएको थियो । बैठकमा समितिका सदस्यहरुले पनि दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माणको काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।समितिकी सदस्य उदया शर्मा पौडेलले दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माण भए–नभएकोतर्फ समितिले जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि समितिले निगरानी राख्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।समितिका अर्का सदस्य ठगेन्द्र प्रकाश पुरीले उपयोगितालाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण भए–नभएको विषयलाई पनि समितिले गम्भीरताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो ।राष्ट्रियसभा अन्तरगतको यो समितिको कार्य क्षेत्रभित्र संघीय संसदमा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अनुसन्धानसम्बन्धी कार्य पर्दछ ।

सरकारले आवश्यक दरबन्दी विवरण नपठाउँदा लोकसेवा आयोग अन्योलमा, 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ । आगामी असोज ३१ गतेबाट आयोगले नयाँ पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यतालिका भए पनि मन्त्रालयले विवरण उपलब्ध गराउन ढिलाइ गरेको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयका ढिलाइका कारण पदपूर्तिका लागि रिक्त पदमा विज्ञापन गर्नसमेत समस्या पर्ने भएको छ । उनले असोज ७ गतेभित्र पदपूर्ति गर्नुपर्ने विवरण आयोगमा पठाउनुपर्ने भए तापनि अझै नपठाएको बताए । आयोगले सामान्य प्रशासन, स्वास्थ्य सेवा, संसद् सेवा र न्याय सेवाका परीक्षा लिई सरकारलाई योग्य उम्मेदवार सिफारिश गर्ने गरेको छ । आयोगमा अहिलेसम्म न्याय सेवा आयोगले मात्र सो सेवामा रिक्त पदपूर्तिको लागि विवरण उपलब्ध गराएको उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए ।

पाँच दिनभित्र उखु किसानको भुक्तानी दिन उद्योगीलाई सरकारको निर्देशन
सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ ।चाडपर्व आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले पाँच दिनभित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो । अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, वन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरवारमा बसेको बैठकले यस्तो निर्देशन दिएको कृषि मन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो । पाँच दिनभित्र भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समितिलगायतले संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएपछि सरकार तात्तिएको हो ।उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरुको आरोप थियो । कृषि मन्त्रालयको सिफारिसमा गएको वैशाख ५ गते बसेको मन्त्री परिषद्को बैठकले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदान बापत ६५ रुपैयाँ २८ पैसा गरी प्रति क्विण्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा दिने निर्णय भएको थियो ।निर्णय भएको ६ महिनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको बाटो तताउनु परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । अहिलेसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नु पर्ने महासंघको दाबी छ ।उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि रणनीति तयार गर्नका लागि आइतबारको मन्त्री परिषद् बैठकले राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

नोर्धाउस र रोमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिइएको हो ।अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ ।

भारतमा इन्धनको मूल्य लगातार वृद्धि
भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ ।पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य प्रतिलिटर भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ ।मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए ।


चीन–लक्षित भड्किला कार्यहरु रोक्न अमेरिकालाई चीनको आग्रह 
चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गर्नुभएको छ । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो । बेइजिङमा अमेरिकी विदेशमन्त्री र चिनीया विदेशमन्त्रीबीच भएको वार्तामा दुवै नेताबीच एकअर्काका नीतिमाथि कडा आरोप–प्रत्यारोप भएको बताइएको छ । 

इन्टरपोलका अध्यक्ष मेङ होङवेईले दिए राजीनामा
गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनियाँ अधिकारीहरुले सोमबार घोषणा गरेका छन् ।चिनियाँ कानुनको उल्लंघनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ ।विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीकोसमेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ ।फ्रान्सेली अधिकारीहरुले गत शुक्रबारमात्र मेङ चीनमा ‘बेपत्ता’ भएको समाचार सार्वजनिक गरेका थिए ।अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ । मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन् ।विश्लेषकहरुले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन् ।

विश्वकप टी–२० क्रिकेट छनोटः भोली नेपालले भुटानसँग खेल्ने
मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा भोली नेपालले भुटानसँग खेल्दैछ ।समूहमा लगातार तीन जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल भोलीको खेल जित्दै आफ्नो अग्रता अझै बलियो पार्न चाहन्छ ।भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ ।सात टोली सहभागी एसियाली समुह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छानिनेछन् ।आफ्ने तेस्रो खेलमा नेपालले हिजो थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो । 

वेलुकी 
अन्त्यमा ताप्लेजुङको मौषम सम्वन्धि जानकारी ।।

आज विहानको ताप्लेजुङको न्युनतम तापक्रम ११.५ डिग्री सेल्सियस रहेको  पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यलय ताप्लेजुङले जनाएको छ । आज ताप्लेजुङमा १ मिलिमिटर वर्षा भएको छ ।

आज सुर्योदय विहान ५ बजेर ५० मिनेटमा भएको थियो सुर्यास्त अघि साँझ ५ बजेर ३१ मिनेटमा  भएको छ ।
 

प्रतिकृया दिनुहोस

शनिबारदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

काठमाडौं, मंसिर २८ । नेपालमा पनि शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ

तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

  अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै  नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी

२०७५ असोज २९ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर

र्सघर्ष समिति गठन अस्थाई करार शिक्षकहरुको भेलाले ताप्लेजुङ जिल्लामा र्सघर्ष समिति गठन गरेको छ । गुणराज न्यौपानेको अध्यक्षतामा ९ सदसिय संर्घष समिति