कांग्रेसको विकल्प के ?

मिलन पाण्डे
२०५१ साल साउन २२ गते कांग्रेसमा एउटा मोड आयो (दलीय द्वन्द्व, पेज १२६/१२७)। शीर्ष नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि चुनाव नलड्ने सर्तमा केन्द्रीय समिति बैठकले लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्ने निर्णय गर्‍यो। यो निर्णयमा कोइरालासहित सबै नेताले सहमति जनाए। नेताहरूले व्यक्तिगत त्याग गरेर पार्टी जोगाउने नीति लिएको आभास भयो। कांग्रेसको किचलो अन्त्य हुनुका साथै नयाँ पुस्तामा नेतृत्व जाने भयो भन्ने चर्चा हुन थाल्यो। तर यो सहमतिविरुद्ध भोलिपल्टै कोइरालाले चुनाव लड्नुपर्छ भनेर बालुवाटारमा कार्यकर्ताको नारा लाग्यो। कोइरालाकै रणनीतिअनुरूप यो सबै भएको अनुमान गरियो।

कोइरालाकै आह्वानमा दुई दिनपछि कांग्रेसको ‘विशेष भेला’ बोलाइयो। भेलाले चुनाव लड्न पाउनु नैसर्गिक अधिकार हो भन्दै साउन १२ गतेको निर्णय उल्ट्यायो, फलस्वरूप कांग्रेस विवाद झन् चुलियो। कोइराला मोरङ अनि सुनसरीबाट चुनाव लडे भने भट्टराई, निधि र सिंह लडेनन्। यही घटनाबाट असन्तुष्ट बनेका सिंहले २०५१ भदौ ३१ गते पार्टी परित्याग गरे। यो निर्णयबाट कांग्रेसले दुइटा कुरा गुमायो। पहिलो– पार्टीको सर्वोच्च नेता। दोस्रो– नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको अवसर। यससँगै कांग्रेसको अधोगति सुरु भयो।

पाठ गराउने पुरेतले शुद्ध हुन नुहाउनु पर्दैन, जनै लगाए पुग्छ भने झैं कांग्रेसले जेजस्तो गरे पनि लोकतान्त्रिक शक्ति बनेपछि अन्य सुधार गर्नुपर्दैन भनेर बसिरह्यो। लोकतन्त्रमा आस्था राख्ने मतदाता पनि कांग्रेस रोज्न बाध्य भए। कांग्रेसले पटकपटक ‘लोकतन्त्र बचाउन’ ‘इमोसनल’ भोट माग्दै आयो, नागरिकले पनि कांग्रेसभन्दा लोकतन्त्रलाई बचाउने हेतुले कांग्रेस रोजे। यसपालिको कांग्रेसको निर्वाचन समीक्षा गलत होइन। कांग्रेस हार्नुमा एमाले अनि माओवादीकै गठबन्धनको दोष हो। ४८ सालपछि कांग्रेस जितेको छैन। खालि अरू दल हारेका छन्।

कांग्रेस एकदुई वर्षमा बनेको पनि होइन, कांग्रेस एकदुई वर्षमा कमजोर भएको पनि होइन। प्रतिशोध अनि प्रतिरोधको राजनीतिले कांग्रेसलाई खोक्रो बनाइसकेको छ। कांग्रेसका निम्ति सधैं लोकतन्त्रभन्दा माथि सत्ता रह्यो। गत निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेका कमल थापाविरुद्ध कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर उनलाई समर्थन ग‍र्‍यो। थापाको पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन वामपन्थीसँग गठबन्धन गरेर झापाबाट उठे। कांग्रेस चुप बस्यो। स्थानीय निर्वाचनमा माओवादीसँग मिलेर भरतपुरमा माओवादीकी रेणु दाहाल जिताउन मतपत्र च्यातिँदासमेत मौन रह्यो।

सुशीला कार्कीको महाभियोग होस् या नाकाबन्दी, कांग्रेस आफ्नो स्वार्थभन्दा माथि उठ्न सकेन। कांग्रेसले अर्को एउटा भ्रमको खेती गरिरह्यो : विकास कांग्रेसले गरेको हो। अहिलेको विकास न कांग्रेसले गरेको हो, न कम्युनिस्टले। विकास त प्राकृतिक हो। बरु कांग्रेस र कम्युनिस्टले त विकास रोकेका छन्। कांग्रेसले घडेरी काण्डदेखि पजेरो काण्डसम्मका भ्रष्टाचार सुरु गर्‍यो। सांसद् किनबेच गरेर संसदीय विकृति भिœयायो। कर्मचारी, प्राध्यापक, विद्यार्थी, विश्वविद्यालय, न्यायालय, शिक्षा, स्वास्थ्यमा राजनीति घुसाउन सुरु गर्‍यो। त्यसैले अब कांग्रेसको विकल्प खोजिन जरुरी छ। निम्न कारणले कांग्रेसको विकल्प खोजिनैपर्ने अवस्था छ :

खोक्रो संगठन

कुनै पनि पार्टीको मेरुदण्ड भनेको संगठन हो। अर्थात् उसका नेता अनि कार्यकर्ता। ४६ सालपछिकै कुरा गर्ने हो भने पनि कांग्रेसका दुई ठूला नेता कृष्णप्रसाद अनि गणेशमानले नै पार्टी परित्याग गर्नुपर्ने स्थिति आयो। सयौं संस्थापक नेता निष्क्रिय भए। पार्टी संगठन पद्धतिबाट व्यक्तिकेन्द्रित हुँदै गयो। महाराजगन्ज अनि बूढानीलकण्ठमा कार्यकर्ताको भीड लाग्न थाल्यो। जसले गर्दा स्वार्थबाट उत्प्रेरित नेता तथा कार्यकर्ता नै नेतृत्वमा आउँदै गए। कार्यकर्ताले नेता रिझाउन आम नागरिकसँग सम्बन्ध तोडे। संगठन कमजोर बन्यो। स्वार्थकेन्द्रित हुँदा त्याग र योगदानको राजनीति सकियो। पहुँचको राजनीतिले कार्यकर्ता अनि मतदाताबीच ठूलो खाडल ल्यायो। अहिले कांग्रेसका केन्द्रीय नेताहरू एउटा वडा जित्ने हैसियतमा पनि छैनन् किनकि उनीहरूले नागरिक होइन, नेताकेन्द्रित राजनीति गर्दैछन्।

कांग्रेसमा आएको विचार र मूल्यको विचलन तथा स्खलनका कारण अब कांग्रेसको विकल्प खोज्नुको विकल्प छैन।

अपारदर्शिता

कांग्रेस सुवर्ण शमशेरको पैसाले चलेको थियो। बीपीले सुवर्णलाई चिठी लेख्ने अनि पैसा निकासा हुने गर्दै आएको थियो। बीपीलाई यो दीर्घकालीन समाधान नलागेर उनले २०१४ सालतिर सूर्यप्रसाद उपाध्याय, रामनारायण मि श्र, डा. तुलसी गिरिसहितको चन्दा संकलन समिति बनाए। तर त्यो समितिले जति प्रयास गरे पनि चन्दा संकलन गर्न सकेन। यहीबीचमा ब्रह्मशमशेर जबरा कांग्रेसलाई ५० हजार चन्दा दिन राजी भए, तर उनलाई सांसद बनाउनुपर्ने सर्तमा (पहिलो संसद, पेज ५०)। सर्त मानेर ब्रह्मशमशेरलाई माथिल्लो सभामा लगियो। पार्टी टिकाउन सांसद पद बेचियो।

पार्टी सञ्चालन कहिल्यै पनि सहज हुँदैन। हालका प्रमुख दलले पारदर्शी ढंगबाट पार्टी सञ्चालन गरेकै छैनन्। कांग्रेसको हकमा यो समस्या झन् विकराल छ। कांग्रेसले सिट बेच्नेदेखि, बिचौलियासँग चन्दा उठाउने कुरा कसैबाट लुकेको छैन। निर्णय पनि पारदर्शी ढंगबाट हुँदैन। संसद् भवनमै लोकमान काण्ड, नाकाबन्दीजस्ता विषयमा हामीले हार्‍यौं भन्ने अभिव्यक्ति दिन्छन्। उम्मेदवार र पदाधिकारी नेताको खल्तीबाट आउँछन्। चुनाव खर्चको हिसाबकिताब हुँदैन। कांग्रेसमा कार्यकर्ताले नेतालाई भ्रष्ट बनाउने अनि नेताले कार्यकर्तालाई भ्रष्ट बनाउने अन्त्यहीन चक्र चलिरहेको छ।

सिद्धान्तविहीनता

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ मूलमन्त्र बोकेर हिँडेको कांग्रेसले स्थापनाको सात दशक बिताइसक्दा पनि व्यवहारतः आफूलाई यी सिद्धान्तमा टिकाउन सकेको छैन। नाकाबन्दी, जलविद्युत् आयोजना वा सीमा समस्याका विषयमा होस्, कांग्रेस बोलेको छैन। नागरिकले ‘राजनीतिका लागि बोल्ने मात्र’ पार्टी खोजेको होइन।

कांग्रेस न पार्टीभित्र लोकतान्त्रिक छ न संसदमा। चुनाव गराउनु मात्र लोकतन्त्र हो र ? योग्यता र क्षमता लत्याएर उम्मेदवार अनि पदाधिकारी चयन गर्ने पार्टी कसरी लोकतान्त्रिक हुन्छ ? जित्नका लागि एकातिर राप्रपा अनि अर्कोतिर माओवादीसँग तालमेल गरेर लड्ने दल कसरी लोकतान्त्रिक मूल्य मान्यतामा अडिन्छ ? न्यायालयमा भागबन्डा खोज्ने दलले कसरी लोकतन्त्र बचाउन सक्छ ?

समाजवाद पनि कांग्रेसका निम्ति धन्दा बनेको छः राजनीतिक धन्दा। समाजवादबाट भन्ने कांग्रेस पुँजीवाद हुँदै स्वास्थ्य, शिक्षाजस्ता विषयको समेत दलाली गर्ने अवस्था छ।

नेतृत्व कब्जा

नेतृत्व हस्तान्तरण गर्न नसक्दा पार्टीले नयाँ जीवन पाउन सकेन। विगत २५ वर्षमा कांग्रेसले नेतृत्व विकासमा लगानी गर्न सकेको छैन। जसले गर्दा नेतृत्वमा केही व्यक्तिको मात्र हैकम चल्यो। आज पनि शेरबहादुर देउवालाई चुनौती दिने नेता छैनन्। देशभरबाट निराशाजनक नतिजा आउँदा पनि देउवा नै दुईतिहाइ मतले संसदीय दलको नेतामा निर्वाचित भए। कुनै संगठनले नेतृत्व विकासमा ध्यान दिँदैन भने त्यो संगठन धेरै टिक्न सक्दैन।

रणनीतिक गल्ती

कम्युनिस्टहरूले आफ्नो उपलब्धि र एजेन्डाको भरपूर सदुपयोग गरिरहँदा कांग्रेसले गरेका केही कामको जससमेत लिन सकेन। आफ्नो संगठन दाउमा राखेर ०६२/६३ को आन्दोलनको नेतृत्व गरे पनि त्यसको पर्याप्त जस कांग्रेसले लिन सकेन। कांग्रेसले मानेकैले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आयो। तर जस माओवादीले लग्यो अनि कांग्रेस कम्युनिस्टको पुच्छर बन्यो। संविधान कांग्रेसको नेतृत्वमा आयो, स्थानीय निर्वाचन कांग्रेसले गरायो, तर जस लिन सकेन।

कांग्रेसमा नेतृत्व र नीतिको विकल्प खोजिन जरुरी छ, अन्यथा कांग्रेसको विकल्प खोज्न थालिनेछ। कांग्रेसमा नेतृत्व हस्तान्तरण र नयाँ नेतृत्वको उदय अहिलेको निम्ति प्रमुख चुनौती हो। केन्द्रमा मात्र होइन, प्रत्येक एकाइमा नेतृत्व हस्तान्तरण हुन जरुरी छ। तर विडम्बना ! अहिले पनि देउवाको विकल्प देखिएको छैन। कदाचित् सभापतिमा रामचन्द्र पौडेल वा कोइराला खलकका सदस्य आए पनि तिनले समाधान दिन सक्दैनन्। तसर्थ नयाँ पुस्ताका गगन, विश्वप्रकाशहरू अगाडि आउनैपर्छ। या त कांग्रेस पुनर्गठन हुनुपर्छ नत्र कांग्रेसको विकल्प खोजिन जरुरी छ।

तथापि ध्यान दिनुपर्ने कुरा के हो भने पेजरलाई जति नै उन्नत बनाए पनि त्यसले स्मार्ट फोनको आकांक्षा पूरा गर्न सक्दैन। अहिलेको अवस्थामा कांग्रेस सप्रेर पनि आम नागरिकलाई उन्नत लोकतन्त्र दिन सक्दैन। नेपाली कांग्रेसले हाम्रो समाजको लोकतान्त्रिक चरित्रको फाइदा उठाएर नेतृत्व गरिरह्यो, जसले गर्दा कांग्रेस परिस्कृत हुन सकेन। कांग्रेसमा आएको विचार र मूल्यको विचलन तथा स्खलनका कारण अब कांग्रेसको विकल्प खोज्नुको विकल्प छैन। नेपाली समाजले एउटा लोकतान्त्रिक पार्टी मागिरहेको छ, जसले कल्याणकारी सहभागितामूलक लोकतन्त्रलाई वैचारिक अनि व्यावहारिक हिसाबले आत्मसात गर्न सकोस्। कांग्रेसको विकल्प नखोजी मतदाताले नेकपाको विकल्प खोज्न सक्ने अवस्था छैन। तसर्थ नेपाली राजनीतिमा विकल्प खुला राख्न कांग्रेसको विकल्प खोजिन जरुरी छ।


–पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्।

प्रतिकृया दिनुहोस

असोजमै पुनःनिर्माणलाई आवश्यक बजेटको सूक्ष्म अङ्क आउने

– पूर्णप्रसाद मिश्र  काठमाडौँ– भूकम्पपछिको पुनःनिर्माणका लागि रु चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता भएकामा हालसम्म रु तीन खर्ब ६ अर्बको

सन्दर्भ ८ विद्यार्थी आन्दोलनः प्रचण्डहरु पनि निजीकरणकै मतियार

काठमाडौं ।असार १९ ।  आठ विद्यार्थी संगठन हाल जनताका प्रतिनिधि संगठन हुन् । ओली-प्रचण्ड सरकारको बजेटद्वारा सिर्जित चरम महंगी र शिक्षा क्षेत्रको

अन्तिम सास फेर्दै गर्दा डा. उपेन्द्र देवकोटाले छाडेका पाठहरु

हजारौं बिरामीलाई अकाल मृत्युबाट बचाएका डा. उपेन्द्र देवकोटा मृत्युसँग लड्दालड्दै थाक्नुभयो र अन्ततः उहाँको चोला उठ्यो । जीवनमा सक्रिय रहँदासम्म