तमोर हालखवर २०७५ भदौ ७ गते विहिवार विहान ८ः३० वजे


समयमै जन्म र मृत्युदर्ता गर्नेलाई फिदिम नगरपालिकाद्धारा पुरुस्कार दिइने
पाँचथरको फिदिम नगरपालिकाले जन्म र मृत्युदर्ता गर्ने ब्यक्तिलाई पुरस्कार दिन थालेको छ । नगरपालिकाले आ.व. ०७५÷०७६ को निती कार्यक्रम मार्फत नै ३५ दिनभित्रमा जन्म र मृत्युदर्ता गर्न आउने महानुभावहरुलाई ५ सय रुपैया पुरुस्कार दिने निर्णय गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,“ अहिले जन्मदर्ता र मृत्युदर्ता गर्न आउने नागरिकहरुलाई वडा बाटै ३५ दिन भित्रमा आएमा ५ सय रुपैया रकम पुरुस्कार स्वरुप दिइने ब्यवस्था गरेका छौ,जसले गर्दा समयमै जन्म,विवाह,वसाईसराई र मृत्युदर्ता गर्ने वानीको विकाश हुनेछ ।” अहिले फिदिम नगरपालिकाका १४ वटै वडाहरुमा समयमै जन्मदर्ता र मृत्युदर्ता गर्न आउने महानुभावहरुलाई  पुरुस्कार स्वरुप रकम दिने ब्यवस्था निती तथा कार्यक्रममै उल्लेख गरिसकिएको फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो ।

पानी नहुँदा बसाइँसराइ, पानी अभावले गाउँले समस्यामा
 मध्य वर्षामा पनि पानीको अभाव भएपछि आठराई गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । उनीहरू पानी नभएपछि अन्यत्र बसाइँ सर्न थालेका छन् । तमोर नदीसँग सीमा जोडिएको आठराई क्षेत्रको होडा गाउँका बासिन्दा गाउँमा रहेका पानीका मुहान सुकेपछि पानी खोज्दै गाउँ छोडेर तराईतर्फ बसाइँ झरिरहेको स्थानीय अगुवा टीकारम बस्नेतले बताए ।कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आधार शिविरतर्फ जाने पर्यटक पदमार्गमा रहेको पाँचपोखरीमा पनि पानी अभाव भएपछि पानी खोज्दै अन्यत्रै सर्दै छन् ।तेह्रथुम, ताप्लेजुुङ र पाँचथरका दुई दर्जन गाविसको प्रमुख व्यापारिक केन्द्र संक्रान्ती बजारमा पनि पिउने पानीको समस्या वर्षौंदेखि समाधान हुन सकेको छैन । हिउँद याममा सुकेका गाउँका खोल्साखोल्सीमा रहेका पानीका मुहानमध्ये वर्षादमा पनि पलाउन सकेका छैनन् ।
 अघिल्ला वर्षहरूमा यति लामो समय मुहानमा पानी अभाव हुँदैनथ्यो । गत वर्षदेखि अधिकांश पानीका मुहान सुकेका छन् ।०७२ सालमा गएको भूकम्पले पानीको मुहान रहेका क्षेत्रमा जमिन हल्लिँदा पानी भित्रभित्रै छिरेर हराएको स्थानीय बासिन्दाको भनाइ छ ।गाउँमा पिउने पानी नै नभएपछि गाउँका हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की, पुण्य न्यौपानेलगायतको परिवार गाउँ छोडेर पूर्वी तराईतर्फ बसाइँ गएको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताए । अरू दुई दर्जन परिवार पनि गाउँ छोडेर बसाइँ जाने तयारीमा छन् ।  पाँच वर्षअघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले यो संख्या घटेर आधाभन्दा तल झरेको प्रअ बस्नेतले बताए ।संक्रान्ती बजार र आसपासका बस्तीमा पिउने पानी विस्तारका लागि सरकारले विनियोजन गरेको ४ करोड ५० लाखसमेत पानीको मुहान नभेटिएपछि सात वर्षअघि फ्रिज भएको थियो ।

संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायधीश र अख्तियार प्रमुख छानिँदै
सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुन संवैधानिक परिषदको बैठक बस्न सकेको थिएन। अघिल्लो साता परिषदको बैठक सरकारले बोलाइए पनि स्थगित भएको थियो। विपक्षी दलको नेता शेरबहादुर देउवा विदेश उपचारका लागि जाँदा संवैधानिक वैठक स्थगीत भएको थियो। देउवा आइतबार स्वदेश फर्किसकेका छन्।  देउवा फर्किएपछि परिषदको बैठक आज दिउँसो ४ बजेलाई बोलाइएको हो।   भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एकको सिफारिस हुनेछ। न्यायाधीश हुनका लागि संविधानले तोकेको ३ वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुवैको पुगेको छ। न्यायपरिषद्ले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश हुनका लागि योग्य न्यायाधीशको नाम सिफारिस गर्दा रोस्टरमा समावेश गरिएकाले उनीहरुमध्ये एकले नेतृत्व पाउने निश्चित छ। राणाभन्दा मिश्र वरिष्ठ भएकाले उनको नाम संवैधानिक परिषद्ले सिफारिस गर्नसक्ने देखिएको छ। मिश्र र राणा २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। एकै पटक सिफारिस भएका उनीहरुमध्ये मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन् भने राणा उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च आएका हुन्।

उता अख्तियारको प्रमुख आयुक्तका लागि पनि धेरै आकांक्षीहरु रहेका छन् । हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री प्रतिस्पर्धामा रहेका छन् । लोकमानसिंह कार्कीका अस्वभाविक बर्हिगमन पछि दीप बस्नेत प्रमुख आयुक्त भएका थिए । गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ। उनीहरुमध्ये घिमिरे प्रमुख आयुक्त भएमा आयोगमा एक आयुक्तको पद रिक्त हुनेछ। त्यसमा नेपाली कांग्रेसले दाबी गरेको छ।प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामखु, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ।

नेकपा : १७ जिल्लाको नेतृत्व टुंगिन बाँकी, प्रतिवेदन बुझाउने आज अन्तिम दिन 
नेपाल कम्युनिस्ट पार्टीको १७ जिल्लाको नेतृत्व टुंगिन बाँकी छ । ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । नेकपामा ७७ वटा भूगोल र ४ विशेष जिल्ला कमिटी छन् । तीमध्ये १७ वटा जिल्लाको नेतृत्व बाँडफाँड टुंगिन नसकेको हो । प्रदेश १ मा ३, प्रदेश २ मा १, गण्डकी प्रदेशका ११ र कर्णाली प्रदेशका २ जिल्लाको नेतृत्व कसले पाउने कार्यदलले अझै टुंगो लगाउन सकेको छैन । नेकपाले एकीकरण कार्यदललाई आजसम्म प्रतिवेदन बुझाइसक्न अन्तिम समयसीमा तोकेको छ ।कार्यदल तहमा टुंगो नलागेका जिल्ला र प्रदेशहरूको हकमा जस्ताको तस्तै प्रतिवेदन बुझाउनुपर्ने निर्णय भइसकेको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ६५ जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् ।

विप्लव प्रवक्ता ‘प्रकाण्ड’ आज १० बजे अदालतमा उपस्थित हुनै पर्ने
 सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज १० बजे अदालतमा उपस्थित लागि आदेश दिएको छ । विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नारायणप्रसाद पन्थीले जानकारी दिए ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आज विश्वकर्मा अदालतमा उपस्थित भएका थिए । गैरकानूनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरेका थिए । 

हिमाली बस्ती विकासका लागि १६ क्षेत्र छनोट, पर्यटन पूर्वाधार पूर्ति गर्न व्यवस्थित बस्तीको अवधारणा 
 सरकारले हिमाली क्षेत्रमा व्यवस्थित बस्ती तथा शहर विकास गर्ने उद्देश्यले १६ ओटा क्षेत्र छनोट गरेको छ । हिमाली बस्ती तथा क्षेत्र पर्यटन प्रवर्द्धनका लागि आकर्षक गन्तव्य मानिँदै आएको तर पर्यटन पूर्वाधारको व्यवस्थित विकास हुन नसकेको अवस्थामा शहरी विकास तथा भवन विभागले यसको अध्ययन शुरू गर्ने भएको हो ।
विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयका अनुसार हिमाली बस्ती विकासका लागि पूर्वदेखि सुदूरपश्चिमाञ्चल क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रहरू छनोट गरिएका छन् । चालू आर्थिक वर्ष (आव) २०७५/७६ का लागि चारओटा बस्ती छनोट गरिएको छ । हिमाली वस्तीको अध्ययन गर्ने कार्ययोजनाअनुसार यो वर्ष स्याफ्रुबेंशी, जोमसोम, सिमीकोट र मार्तडीमा अध्ययन शुरू गरिनेछ । नयाँ शहर आयोजनाका आयोजना प्रमुख पराग कायस्थले यी बस्तीहरू बसाउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिने जानकारी दिए । लुक्कामा व्यवस्थित बस्ती विकास गर्न गत आर्थिक वर्षदेखि नै काम शुरू गरिएको छ । यसलाई निरन्तरता दिइनेछ ।

सामाजिक सञ्जालको विज्ञापनमा कर लगाउने गृहकार्य थाल्दै सरकार
 संसदीय समितिको निर्देशनसँगै सरकारले सामाजिक सञ्जालका माध्यममा हुने विज्ञापनलाई करको दायरामा ल्याउने सम्बन्धमा गृहकार्य सुरु गरेको छ। आन्तरिक राजस्व विभागका नायब महानिर्देशक यज्ञप्रसाद ढुंगेलका अनुसार सामाजिक सञ्जालको विज्ञापनलाई करको दायरामा ल्याउने गरी विभागले आन्तरिक छलफल सुरु गरेको छ।  गत सोमबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको विकास तथा प्रविधि समितिले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको कारोबारलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको थियो। हालसम्म यसका लागि कुनै नीतिगत व्यवस्था छैन। सामाजिक सञ्जालमार्फत ठूलो परिमाणमा विज्ञापन कारोबार हुने गरेको, तर त्यस्तो कारोबारको लगत र आउनुपर्ने कर प्राप्त हुन नसकेको ठहर विभागको छ। यसबापत बर्सेनि करोडौं रुपैयाँ बाहिरिने गरेको छ। 

सामाजिक सञ्जाल चलाउँदै सरकार
काठमाडौँ राज्यका सबै निकायले अब सामाजिक सञ्जालहरू भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ । ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।सामाजिक सञ्जालका माध्यमबाट जनगुनासा तत्काल सम्बोधन गर्न र जनतासँग सरकारी निकायको सम्बन्ध मजबुत बनाउन भन्दै यस्तो कार्यविधि ल्याइएको हो । सरकारले आफ्नो छुट्टै सामाजिक सञ्जाल पनि बनाएर प्रयोगमा ल्याउन सक्ने त्यसमा उल्लेख छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ६९ को अधिकार प्रयोग गरी ल्याइएको कार्यविधिअनुसार अब सबै सरकारी निकायले फेसबुक पेज, ट्वीटर एकाउन्ट र भाइबर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने छ ।

सरकारी विद्यालयमा पढे सुविधै सुविधा
सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ ।
विधेयकको २२ देखि २७ दफामा आधारभुत र माध्यामिक तहमा भर्ना भएका र पढ्दै गरेका विद्यार्थीलाई पाठ्यपुस्तक, पोशाक, दिवाखाजा, शैक्षिक सामाग्री र प्राथमिक स्वाथ्य उपचार लगायतका सेवा निःशुल्क दिने उल्लेख छ । विद्यार्थीलाई सबै सुविधा दिने जिम्मा स्थानीय तहलाई तोकिएको छ ।

चौथो बिम्स्टेक सम्मेलनको लोगो सार्वजनिक, घोषणापत्र जारी गर्ने तयारी
भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिम्स्टेक सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले लोगो र एजेन्डा सार्वजनिक गरेको छ ।सात वटा राष्ट्रको झण्डा अंकित गरिएको लोगोको माथिल्लो भागमा हिमाल र तल्लो भागमा समुद्रको चित्र अंकित गर्दै मन्त्रालयले लोगो सार्वजनिक गरेको हो । लोगोमा थपिएको बिम्स्टेकका दुई वटा सहकार्य क्षेत्रको प्रतिक भएको मन्त्रालयको दावी छ । जसअनुसार चौथो सम्मेलनमा व्लू इकोनोमी र माउन्टेन इकोनमीको बारेमा समेत चर्चा हुने छ । ब्लु इकोनोमी अर्थात् समुद्री सहकार्य र माउन्टेन इकोनोमीको अर्थ हिमाल जोडिएका देशसँगको सहकार्यका रुपमा मन्त्रालयले चित्रण गरेको छ ।यस्तै, सम्मेलनमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । यसैबीच, परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिम्स्टेक सदस्य देशहरुले सहभागिताको सुनिश्चितता गरेको जनाएको छ । 

उपेक्षित दलित र मुस्लिम आयोग : कर्मचारीले तलब पनि पाएनन्
सरकारले तलब भत्ता र प्रशासनिक खर्च निकासा नगर्दा राष्ट्रिय दलित आयोग र राष्ट्रिय मुस्लिम आयोग समस्यामा परेका छन्। दुवै आयोगमा कार्यरत् २८ कर्मचारीले एक महिनादेखि तलब पाएका छैनन्। राष्ट्रिय मुस्लिम आयोगकी उपसचिव निर्मला मल्लले एक महिनायता दैनिक कार्य सञ्चालन खर्च र तलब निकासा नआएको गुनासो गरिन्। मुस्लिम आयोगमा स्थायी र करार गरी जम्मा ७ जना कर्मचारीको असोजसम्मको तलब माग गरी शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको उनले जानकारी दिइन्। दलित आयोगले पनि करार र स्थायी गरी २१ जना कर्मचारीको तलब माग्दै मन्त्रालयमा पत्र पठाएको छ। सरकारले दलित र मुस्लिम आयोगलाई प्रशासनिक खर्च र तलबसमेत निकासा नगरेर दुवै आयोगको उपेक्षा गरेको गुनासो कर्मचारीले गरिरहेका छन्।नयाँ आवदेखि पुरानो आयोग नरहने र संवैधानिक स्वरूपका आयोग गठन गर्ने भन्दै सरकारले बजेट नछुट्याउँदा प्रशासनिक खर्च र कर्मचारीको तलब निकासा गर्न नसकेको हो। सरकारले यस आवमा दलित र मुस्लिम दुवै आयोगका लागि जनही ४ करोड १ लाख रुपैयाँ बजेट छुट्याएको भए पनि संवैधानिक स्वरूपमा गठनपछि मात्र बजेट रकम निकासा हुने अर्थ मन्त्रालयको भनाइ छ।

प्रधानमन्त्रीको सम्बोधनले राजपामा विवाद
प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा)भित्र विवाद निम्त्याएको छ ।एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै जरिवाना तिराउनुपर्नेसम्मको माग गरेका छन् ।प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै राजपा प्रदेश २ का सचेतक परमेश्वर साह र राष्ट्रिय सभा सदस्य वृजेश लालले प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरेका हुन् । उनीहरूको कडा मागपछि राजपामा मतभेद झन् बढेको छ ।कतिपय सदस्यले पार्टी संयोजक महन्थ ठाकुरले दोहोरो चरित्र देखाएर जानाजान विवाद जन्माएको आरोप लगाएका छन् ।केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको आवाज उठेको छ । प्रधानमन्त्रीको सम्बोधनको विरोध गर्ने लाल र साह दुवै ठाकुरनिकट नेता हुन् ।

चितवनमा २८ जना स्वाइन फ्लुका बिरामी
 चितवनमा इन्फ्लुयन्जा ए ९एच वान एन वान० अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका छ । “गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो”, कलेजका प्रयोगशाला प्रमुख डा। सन्जय यादवले भन्नुभयो । यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हुँदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हुँदै ‘मल्टि अर्गान फेलर’ अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ ।

 पहिलोपटक अन्तरिक्षमा मान्छे पठाउने तयारी गर्दै भारत
 यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सन् २०२२ सम्ममा मानिससहितको अन्तरिक्ष यात्रा तय गर्ने घोषणा गरेका थिए । तर भारत वास्तवमै यति ठूलो उपलब्धि हासिल गर्न सक्षम भएकामा विश्वविद्हरुले भने शंका व्यक्त गरिरहेका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरुले बताएअनुसार मोदीले उल्लेख गरेको चुनौतीलाई पूरा गर्न १ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च लाग्नेछ । तर यति बजेट समयमै उपलब्ध गराइएमा चाहिँ उनीहरुले ४० महिना भित्रमै सफलता हासिल गर्ने दाबी गरेका हुन् । उनीहरुले यसलाई सम्भव बताउनुका पछाडि थुप्रै कारणहरु दिएका छन् । यसका लागि देशको सबैभन्दा गह्राैं रकेटको प्रयोग गरिने बताइएको छ । ६ लाख ४० हजार किलो तौल र ४३ मिटर लम्बाइ भएको उक्त रकेटलाई भारतले २०१७ मा सफलतापूर्वक लन्च गरेको थियो । 
त्यसको तौल २०० वटा हात्ती वा पाँच जम्बो जेट बराबर रहेको बताइन्छ । वैज्ञानिकहरुका अनुसार सो रकेटले थप १० हजार किलोको भार बोकेर अन्तरिक्षको यात्रा तय गर्न सक्छ । यसकारण पनि त्यसमा थोरै आधुनिकीकरण गरिएमा अन्तरिक्ष यात्रीहरु सजिलै स्पेससम्म पुग्न सक्ने वैज्ञानिकहरुले दाबी गरेका हुन् ।यसअघिको परीक्षणमा भने स्पेस एजेन्सीले रकेटमा पुत्ला राखेर सफलतापूर्वक अन्तरिक्ष पठाएको थियो । त्यसैगरी भारतीय खोजकर्ताहरुले कम तौल भएको र आगो निरोधक रकेट पनि निर्माण गरेका छन् जसलाई चाहिँ अन्तरिक्ष पुर्याएर जस्ताको त्यस्तै पुनः पृथ्वीमा फर्काउन सकिने बताइएको छ । यस सम्भावित यात्राका लागि विशेष पहिरन पनि तयार पारिसकेको बताइएको छ । 

द्वन्द्वका लागि रुसले सिरियामा पठायो ६३ हजार सेना
 रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो ।मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव भएका व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको बताएका छन् ।उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेको बताइएको छ ।रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए । सन् २०११ देखि सुरु भएको सिरिया युद्वमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौं विस्थापित भएका छन् ।

नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी
 श्रीलंकामा एसिया कप क्रिकेट छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए ।
त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए । १९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलंका आर्मी स्पोर्ट्सले ३६.१ ओभरमा १२७ रन बनाउँदा सबै विकेट गुमायो । श्रीलंका आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्नेक्रममा सोमपाल कामी र वसन्त रेग्मीले समान ३/३ तथा दीपेन्द्रसिंह ऐरीले २, ललित भण्डारी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए ।नेपालले दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलंकाको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।यही भदौ ११ गते नेपाली टोली श्रीलंकाबाट मलेसिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिए ।

विराट काेहलीकाे शतकीय पारीसँगै इंग्ल्याण्डविरुद्धको तेस्राे टेस्ट भारतकाे कब्जामा
इंग्ल्याण्डविरुद्धको पाँच टेस्ट श्रृंखलामा भारतले पहिलो जित हात पारेको छ ।लगातार दुई टेस्ट गुमाएको भारतले तेस्रो टेस्टमा २०३ रनको जित निकालेको हो । नटिङह्याममा ५२१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३१७ रनमा ल आउट भएपछि भारतको २०३ रनको जित सम्भव भएको हो । पाँचौ दिनको पहिलो सत्रमै भारतका रविचन्द्रन आश्विनले अन्तिम विकेटकारुपमा जेम्स एन्डरसनलाई आउट गरे । दोस्रो पारीमा शुरुआती ४ विकेट सस्तैमा गुमाएको इंग्ल्याण्डका लागि जस बट्लर र बेन स्टाेक्सले १६९ रनको साझेदारी गरेका थिए ।दोस्रो पारीमा कप्तान विराट कोहलीको शतकीय योगदानमा भारतले ७ विकेट गुमाएर ३५२ रन बनाएर इंग्ल्याण्डले ५२१ रनकाे  लक्ष्य दिँदै पारी समाप्तिको घोषणा गरेको थियो ।तेस्रो टेस्ट भारतले जितेसँगै श्रृंखला २–१ को अवस्थामा आएको छ । चौथो टेस्ट ३० अगस्टदेखि साउथह्याम्पटनमा सुरु हुने छ ।

विहान
अन्त्यमा ताप्लेजुङको मौसम सम्वन्धि जानकारी

आज विहानको ताप्लेजुङको न्यूनतम तापक्रम १९.२ डिग्री सेलसियस रहेकोे पुर्वि क्षेत्रिय हावापानि फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । विगत २४ घण्टामा ताप्लेजुङमा ३० मिलिमिटर वर्षा भएको छ । आज सुर्योदय विहान ५ बजेर २८ मिनेट  भएको थियो भने सुर्यास्त भरे साँझ ६ बजेर २३  मिनेटमा हुनेछ ।

 

प्रतिकृया दिनुहोस

तमोर हालखवर २०७५ भदौ ६ गते बुधवार साँझ ६ वजे

तेस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटवल संघको कुनैपनि संलग्नता नरहने आगामी भदौ ८ गतेवाट हुन लागेको तेस्रो पाथिभरा

तमोर हालखवर २०७५÷०५÷०६ बुधवार विहान ८ वजे

बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, १ र ५ प्रदेशमा सार्वजनिक विदा मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई

तमोर हालखवर २०७५÷०५÷०६ बुधवार विहान ८ः३० वजे

बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, १ र ५ प्रदेशमा सार्वजनिक विदा मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई