अरूण साहले किन पाएनन् आम माफी ?

personराजेश विद्रोही

अचेल सधैँ कारागाबाट एकजना सहयात्रीको फोन आउने गर्छ । सुखदुःखका कुराहरू सुनाउने गर्छन् । कुरा सुनिदिनुपर्ने र समस्या बुझिदिनुपर्ने हुन्छ । वर्गीय एक सहयात्रीको नाताले आफ्नो कर्तव्य निर्वाह गरिदिनुपर्ने हुन्छ । उनी सधैँ एउटै उत्साहित कुरा गर्छन् ।

वर्ग सत्रुसँग कहिल्यै नझुक्नु, म छिटै छुट्ने छु । अब धेरै दिन छैन । नियमले नै छुट्ने छु । जेल पनि जीवन हो र जीवन पनि जेल हो । यो जीवन सबैले पाउँदैनन् । पाउनेले भोग्दैनन् । नपाउनेले भोग्छन् । कानुन कार्यान्वयनमा समस्या छन् । शासकको नियतिमा समस्या छन् । सत्तामा समस्या छन् । त्यसैले जेलभित्र पनि समस्य छन् । जेलमा हुनुपर्ने मान्छे जेलमा छैनन्, जेलमा नहुनुपर्ने मान्छे जेलमा छन् । कानुन नबदलिए जेल कसरी बदलिन्छन ? जेलै नबदलिए मान्छे कसरी बदलिन्छ ? मान्छे नबदलिए संसार कसरी बदलिन्छन् ? संसार नबदलिए युग कसरी बदलिन्छ ? जेलको सदुपयोग छैन । कैदीको उपयोग छैन । त्यसैले जेल जेल जस्तो छैन । कानुन कानुन जस्तो छैन । बल्ल थाहा भयो सत्ताका लागि राजनीतिक छलकपट । राजनीति यस्तै हुँदो रहेछ । हुने कुरा नहुने, नहुने कुरा हुने । यही राजनीतिको रङ्ग हो । जीवन बाँच्नेको ढङ्ग हो । 

२०५९ असार २४ गतेको घटना हो । अशोक मण्डल ‘अमर’ सप्तरी जिल्लाको जनमिलिसिया कमान्डर थिए । म भीसी थिएँ । मुलुकमा चर्को सङ्कटकाल थियो । पार्टी र सङ्गठन चलाउन कठिन थियो । अधिकांश साथीहरू नेपाल छाडी सकेका थिए । सप्तरी र उदयपुर जिल्लाको पार्टी हेर्ने जिम्मेवारी सहिद अजवलाल यादवको थियो । साङ्गठनिक कमान्ड सहिद वेदप्रसाद भट्टराई बादलले गरेका थिए । कार्यकर्ता पाल्न र दुस्मनका विरूद्ध लड्ने पार्टीको निर्देशन छँदै थियो । सकस ठूलै थियो । सङ्कट पनि ठूलै थियो । के खाने ? कहाँ बस्ने ? कसरी बस्ने ? कसरी बाँच्ने ? सङ्कट थियो । 

दिनरात जङ्गलभित्र जीवन वित्थ्यो । कुनै कुनै दिन मात्र खाना खान गाउँतिर पस्ने अवसर मिल्थ्यो । बिस्कुट, च्याउच्याउ र चिउरा भुजामै जीवन चल्थ्यो । प्रहरी दमन र सीआईडीका कारण खाने एक ठाउँ र हात धुने अर्को ठाउँ हुन्थ्यो । आराम गर्ने र राति सुत्ने ठाउँ पनि सरेको सरै गर्नु पथ्र्यो । त्यो पनि तीव्र गतिमा हुन्थ्यो । सेना प्रहरीको दमन र सीआईडीका कारण बाँच्न र कार्यकर्ता पाल्न निकै कठिन भइरहेको थियो । तत्काल भोकको व्यवस्थापन कसरी गर्ने भनेर अमरसँग मैले सल्लाह गरँे । प्रत्येक हप्ता बुधबार गाउँको स्वालम्बन विकास बैङ्कमा महिलाहरूले पैसा जम्मा गर्थे ।  पैसा कसरी कब्जा गर्ने प्लान बन्यो ।
बुधबार ११ बजेको थियो । महिलाहरू किस्ता बुझाएर फर्की सकेका थिए । अमरले लालमोहमदको घरमा बसेर रेक्की गर्नुभयो । म बैङ्कभित्र छिरेँ । एक जना कर्मचारीले पैसा गन्दै थिए । मसँग भएको मौजर उनको कन्चटमा टसाएँ । भएको पैसा सबै लिएर हामी फरार भयौँ । जम्मा १९,००० हजार थियो । 

पछि प्रहरीको टोली आएर मेरो घर छपा मा¥यो । घरमा आमाबुबा मात्र हुनुहुन्थ्यो । दुवै जनालाई चरम यातना दिँदै हातमा हत्कडी लगाएर राजविराज जिल्ला प्रहरी कार्यालयमा लग्यो । बुबा आमालाई मरणासन्न हुनेगरी यातना दियो । चरम यातनाका कारण बुबाआमाको चेत गुम्यो । बुबा स्थानीय स्कुलका शिक्षक हुनुहुन्थ्यो । सरकारी कर्मचारी भएकाले एक महिनापछि बुबासँग हामीले कब्जा गरेको पैसा फिर्ता गर्ने शर्तमा धरौटीसहित  १९,००० हजार तिरेर छुट्नुभयो । आमा भने यातनालयमा रहिरहनुभयो ।

डेढ महिनापछि आमा पनि धरौटीमा छुट्नुभयो । ६ महिनापछि फेरि आमालाई पक्राउ गरे । एक महिनापछि फेरि धरौटीमा छोडे । पटक पटकको गिरफ्तारी र यातनाले आमा अहिले पनि बाँचेर पनि मरेजस्तो हुनुहुन्छ । कुनै चेत कि छैन । बुबा आमाको के गल्ती थियो ?  कुनै गल्ती थिएन । बुबाआमाकै गल्ती थियो भने मलाई किन फेरि सड्यन्त्रपूर्वक जेलमा कोचियो ? सामान्य चोरी मुद्दामा सारा खान्दानलाई यातना र पीडाको सुलीमा चढाइयो । एउटै मुद्दा किन पटक पटक दोहरियो ? के मुलुकले प्राप्त गरेको गणतन्त्र गलत हो ? आज मुलुक गणतन्त्रमय भएको छ । यसमा मेरो परिवारको पनि योगदान र बलिदान छ । चोरी मुद्दा त्यसै लागेको होइन । राजनीतिमा चोरी, डकैटी, अपहरण, हत्या, देशद्रोह, सार्वजनिक लगायतका मुद्दा स्वभाविक रूपमा लाग्ने र लगाउने गर्छन् ।

अझै पनि मेरा बुबाआमा जीवित छन् । आमा घडी हाँस्ने, घडी रोइराख्ने र बरबराई राख्ने गर्छिन् । मानव वधशालामा पाएको यातनालयका कहरहरू गुनगुनाइराख्छिन् । साथीभाइ, इष्टमित्रहरूले के भन्नलान् भन्दै म त बुबाआमालाई हप्काउँथे र दप्काउँथे । आफ्नो अपरिपक्व चेतनाको प्रयोग गर्थे । आज के महसुस गर्दैछु भने म पार्टीको एक बाफादार र अन्धभक्त सिपाही थिएँ । समयले सिकाउँदै छ । समयले बुझाउँदै छ । राजनीतिक जीवन के हो ? पुर्खाले राजनीति नगरे पनि उनका कलिला सन्तानहरूले राजनीतिक जीवन रच्दैछन् । धेरै कुरा रचिसकेँ । धेरै भोगिसकेँ कलिलै उमेरमा । अझै थुप्रै रच्न र भोग्न बाँकी नै छन् । 

पार्टीले मधेसी सेना निर्माणको अभियान चलाउँदा सेनामा छिट्टै मरिन्छ कि आत्मसुरक्षावादीहरू थुप्रै जन्मिए । सैनिक मोर्चामा अरू र अन्य वर्गलाई अगाडि सार्थे । अवसरवादी दलालहरू पछाडि बस्थे । मलाई अझै ती अन्तर्विरोधको विषयहरू सम्झना छ । मधेसमा पार्टीभित्रको अन्तर्घातको षड्यन्त्रहरू थाहा छन् । को मरे ? किन मरे ? को बाँचे ? कसरी बाँचे ? आज कसले अवसर पाए र पाउँदैछन् ? सबै थाहा छ । हामी गणतन्त्र प्राप्तीका लागि पार्टीले जे आवश्यकता महसुस गथ्र्यो, अन्धभक्त भएर त्यसलाई पूरा गर्न लागि पथ्यौँ । जीवनलाई हत्केलामा राखेर थुप्रै युद्धका मोर्चा लडेँ । पार्टीका सानादेखि ठूला जिम्मेवारीहरू निर्वाह गरेँ । युद्ध मोर्चामा आफ्नै चेत गुमेको थाहा छ ।

अझै पनि शरीरमा बम, बारूद र गोलीका छर्राहरू बोकेको पनि थाहा छ । बाँचुन्जेल औषधि खाइराख्नुपर्ने औषधिको नामसमेत थाहा छ । सिलिगुडीमा च्याङ डाक्टरले उपचार गर्न नसकेको पनि थाहा छ । घाइते र अर्धचेतको नाममा २०६८ सालदेखि जिल्ला प्रशासनकै रोहबरमा ६२००  जीवन निर्वाह भता खाँदै आएको पनि थाहा छ । शान्ति प्रकृयामा आइसकेपछि शान्ति समितिको एउटा सदस्य थिएँ । जनताको हजारौँ काम गर्न पुलिस प्रशासन र अदालत धाएको दिन पनि थाहा छ । पार्टीका लागि के गरेँ के गरिनँ त्यो पनि थाहा छ । मुलुकमा सत्यनिरूपण तथा मेलमिलाप आयोग छ, त्यो पनि थाहा छ । 

आमाबुबाले त्यही मुद्दामा जेल पनि भोगिसकेका छ । कब्जा गरेको पैसा पनि फिरौती गरिसकेको छ । तर  पनि म जेलभित्र छु । एक महिना कैद ५९०० जरिवाना मेरो नामको फैसला हो । तर मैले ५९००० को जरिवाना तिर्नपाइनँ । एक महिनाको जेल सजाय दुई वर्ष भइसक्यो तर फैसला छैन । बालकृष्ण ढुङ्गेलले आम माफी पाएर जेलमुक्त भए । एक जनाको पछि सारा शक्ति दुरूपयोग गरे तर तिनै शक्ति यसअघिदेखि हजारौँ बन्दी योद्धाहरूका लागि प्रयोग भएन । चोरी अभियोग ठूलो कि सर्वोच्चले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको अभियोग ठूलो ?

के चोरी र हत्या अभियोगको फैसला गर्ने न्यायिक आदालत फरक फरक छन् ?  किन यसरी हुँदै छन् कानुनी खेल र जालझेल ? कानुनले एक पटक फैसला गरिसकेको निर्णय पनि फेरिन्छ ? फेरिन्छ भने केही सीमित वर्गका लागि मात्र हो कि आम नागरिकका लागि पनि हो ? किन हुँदैछ एउटै देशमा नागरिक माथि कानुनी विभेद ? जसले काँधमा बन्दुक, पिठ्यँुमा झोला, कम्मरमा बमका गोला बोकेर जीवनको बाजी थापेर मुलुकमा गणतन्त्र ल्याए, आज तिनै गणतन्त्र सेनानी जेलभित्र छन् । जसले गणतन्त्रलाई हत्या गर्न दिनरात संसारका सारा सैनिक दस्ता र काला प्रयोग गरे । हजारौँ जनताका होनोहार छोराछोरीको हत्या गरे । आज तिनीहरू लोकतान्त्रिक गणतन्त्रका मसिहा भएका छन् । शासक बनेका छन् । पुनः सत्ताका मालिक भएका छन् । ती व्यवस्था ल्याउनेहरूको मलामी बनेका छन् ।

यसर्थ उनका केही गम्भीर प्रश्नहरू छन् । द्वन्द्वकालीन मुद्दामै सर्वस्व जन्मकैदको फैसला भइसकेका बालकृष्ण ढुङ्गेललगायत ८ हजारले आम माफी पाए, मैले किन पाइनँ ? ममाथि राज्यले किन विभेद ग¥यो ?  उनी भन्छन्, मलाई सबै कुरा थाहा छ । २०५९ सालको द्वन्द्वकालीन मुद्दामा २ वर्षदेखि के कारणले कारागारमा छु ? किन कारागारमा छु ? ३ वर्ष शान्ति समितिको सदस्य रहँदा हिजोसम्म प्रहरी प्रशासनले किन पक्राउ गर्न सकेन ? २०६४ लालदेखि जिल्ला प्रशासनको रोहबरमा जीवन निर्वाह भत्ता खाँदै आएको छु । म कसरी फरार अभियुक्त भएँ ?  ममाथि मुद्दा छ, किन सूचना नदिई पक्राउ गरे ? यहाँको कानुन फिरङ्गी छन् । यहाँको प्रशासन फिरङ्गी छन् । यहाँको सत्ता र सरकार पनि फिरङ्गी छन् । जे मन लाग्यो त्यही गर्दै हिँडेको छ ।

२०५९ सालको मुद्दा २०७१ मा फैसला गर्छन् र २०७३ मा फरार अभियुक्त भनी अनि म जस्ता निर्दोष व्यक्तिलाई पक्रउ गर्छन् र जेल चलान गर्छन् । जेलभित्र यस्ता थुप्रै निर्दोष नागरिकहरू अनाहकमा जेल भोगिरहेका छन् । जसको कुनै पहुँच छैन । यतिसम्म कि कानुनभन्दा बाहिर ८० वर्षको देवनारायण मण्डल वृद्धदेखि नाबालकसम्मलाई जेलमा हालेर कानुनी जेलको बदनाम गरिरहेका छन् । त्यसैले सरकार यो लोकतान्त्रिक न्यायिक फैसला र व्यवहार होइन् । लोकतान्त्रिक राज्यको सही र सम्मानजनक न्यायिक र निस्पक्ष कानुनी प्रत्याभूति गराउने दायित्व राज्य र सरकारको हो । दुई वर्षदेखि राजविराज कारागारमा जेलजीवन विताइरहेका अरूणकुमार साहतिर फर्केर हेर । यस्ता थुप्रै अनिलहरू भेटिनेछन् । जसले नीलकाँडाहरू चपाएर गणतन्त्र राज्य ल्याउन योगदान र हलिदान दिएका हुन् । यी होनोहार सपुतहरूमाथि दलीय राजनीतिक विभेद भए पनि राज्यको समान हैसियतबाट आम माफी दिनैपर्छ सरकार । नभए राज्य र राजनीतिक दलको चरित्र फरक नभए एउटै वर्गको नजरबाट आम नागरिकले मूल्याङ्कन गर्ने छन् ।

लेखकको नीजि विचार । 

प्रतिकृया दिनुहोस

सन्दर्भ ८ विद्यार्थी आन्दोलनः प्रचण्डहरु पनि निजीकरणकै मतियार

काठमाडौं ।असार १९ ।  आठ विद्यार्थी संगठन हाल जनताका प्रतिनिधि संगठन हुन् । ओली-प्रचण्ड सरकारको बजेटद्वारा सिर्जित चरम महंगी र शिक्षा क्षेत्रको

अन्तिम सास फेर्दै गर्दा डा. उपेन्द्र देवकोटाले छाडेका पाठहरु

हजारौं बिरामीलाई अकाल मृत्युबाट बचाएका डा. उपेन्द्र देवकोटा मृत्युसँग लड्दालड्दै थाक्नुभयो र अन्ततः उहाँको चोला उठ्यो । जीवनमा सक्रिय रहँदासम्म