Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
साहित्य
लालविधवा : विचार लादिएका बोधा कथाहरु

मिलन संग्रौला
दशबर्षे जनयुद्ध नेपाली समाजलाई परिवर्तन गराउने एउटा प्रमुख घटना हो । जनयुद्धसँगै नेपाली साहित्यमा पनि एउटा नौलो धार विकसित भयो । जनवादी साहित्य भनिने उक्त धार नेपाली साहित्यमा सशक्त ढंगले आउन नसके पनि आफ्नो झिनो अस्तित्व भने देखाउन सक्षम छ ।

दश बर्षे जनयुद्धले समाज र व्यक्तिमा पारेको प्रभाव चित्रण गरेर नेपाली साहित्यमा थुप्रै कृति आएका छन् । तीमध्ये थोरैले मात्र साहित्यक र कलात्मक महत्व बोक्न सकेका देखिन्छन् । स्वतन्त्र व्यक्तिले लेखेका केही कृतिले मात्र विचारलाई निष्पक्ष राखी युद्ध, यसको प्रभाव, समाज र पात्रहरुको चित्रण गर्न सफल भएका छन् । यस्ता कृतिहरुलाई भने द्वन्द्व-साहित्यको कोटिमा राख्न सकिन्छ ।

युद्धमा सामेल व्यक्तिहरुद्वारा रचित जनवादी भनिने कृतिहरु भने उनीहरुकै विचार र युद्धको धङधङीबाट मुक्त हुन सकेका देखिंदैनन् । यस्ता कृतिहरुमा कला भन्ने चीज यति भित्र दबिएको हुन्छ कि पढिरहँदा पाठकलाई एकदमै निरस लाग्छ । हुन त लेखक युद्धमै सरिक भएकाले कृति विचारोत्तेजक र पार्टीकेन्दि्रत हुन अस्वाभाविक होइन । तैपनि साहित्यिक मूल्यका आधारमा यस्ता कृतिले स्तर प्राप्त गर्न भने कठिनै हुन्छ ।

साझा प्रकाशनले प्रकाशित गरेको एनेकपा माओवादीकी केन्द्रिय सदस्य तथा भूतपूर्व सभासद् सरला रेग्मी(अनु) द्वारा रचित कथा संग्रह “लालविधवा” पनि यस्तै कृति बनेको छ । संग्रहको नाम झट्ट हेर्दा युद्धले निम्त्याएका विविध परिणाम र यसलाई भोग्दै आएको पात्रहरुको कालत्मक चित्रण गरिएको छ कि भन्ने लाग्छ । तर कथाहरुभित्र पसेपछि भने हिस्स बुढी खिस्स दाँतझैं हुन्छ पाठक ।

कथानकको कुनै परिवेशबिना नै सुरु हुन्छन् कथाहरु, लामालामा भाषणझैं लाग्ने अनुच्छेदका साथ । पात्रहरुको उत्थान र चरित्र निर्माणमा लगभग सबैजसो कथा अत्यन्तै कमजोर देखिन्छन् । पार्टीकै गुणगान र नाराले कथाहरुलाई झनै निकम्मा बनाएको भान पाउन सकिन्छ । त्यस्तै असफल भइसकेको संविधानसभाको गुणगान र संविधान बनाउने विधि समेटिएका केही कथाहरु पाठकका लागि म्याद सकिएको औषधीझैं लाग्छन् ।

पात्रहरुले सोच्ने र बोल्ने तरिका अत्यन्तै अस्वभाविक लाग्छन् । संग्रहभरी कहीँ पनि पात्रहरु आफैं बोल्दैनन् । लेखकको चिन्तन भनाउने माध्यम मात्र बनेका छन् पात्रहरु । हुन त कथाहरुमा ठाउँठाउँमा प्रकृति र परिवेशको चित्रण भने निकै उत्कृष्ट ढंगले गरिएको पाइन्छ । तर त्यो उत्कृष्टता फेरि अर्थहीन हुन्छ जब एकैछिनमा विचार लादिएका लामालामा अुनच्छेद आउँछन् र पृष्ठभूमिबिना पात्रहरु काइते भाषण ठोक्न थाल्छन् ।

शीर्षक हेरेर कथाभित्र पाठकले जुन अपेक्षा गर्छ, त्यो कसरी बाउँडिन्छ भन्ने उदाहरणका लागि संग्रहको मुख्य कथा “लालविधवा” नै पर्याप्त छ । शीर्षक देखेर यस्तो लाग्छ कि युद्धमा लोग्ने मारिएकी एक योद्धा कै मार्मिक चित्रण होला । उसको मनोवैज्ञानिक अवस्थिति, आर्थिक स्थिति, वा कसरी बाँचिरहेकी छे भन्ने कुरा कलात्मक तरिकाले खुलाइएको होला भन्ने लाग्छ । तर कथामा विधवा त के कुनै महिला पात्र समेत खडा छैनन् । हरि, श्याम र प्रकाश नामक तीनजना पात्रहरु लामालामा गफ गर्छन् । कथा सकिन्छ । कथाले उठाउन खोज्ोको विषयवस्तु त ठीकै होला तर कथाको नाममा यस्तो फितलो प्रस्तुतिकरण पाठकलाई ठाडै अन्याय हो । अरु कथाहरुको हालत पनि लगभग यस्तै नै देखिन्छ । बरु कथाकार हुने मोह त्योगेर लेख-संग्रह निकाल्दा बढी फलदायी हुन्थ्यो होला लेखिका सरलालाई ।

विषयवस्तु उठानका हिसाबले कथाहरु औसत नै छन् तर प्रस्तुतिकरण र कलामा शुन्य । कतैकतै युद्ध लडेर आएको पार्टीले बाटो विराएकोमा खबरदारी गरेजस्तो देखिन्छ । तर त्यो पनि ठाडै । मानौं भूपूसभासद् लेखिका पार्टीकै केन्दि्रय समितिको बैठकमा खबरदारी गर्दैछिन् । कतैकतै नारी पात्रको संघर्ष र उनीहरुले भोग्नु परेको अप्ठेरोलाई उठाइएको छ । कतै युद्धले प्रभावित बाल मनौविज्ञानलाई पनि खुलाउन खोजिएको छ । तर कथानक र पात्रहरुको क्रमिक उत्थान र चित्रण नगरिएका कारण ती प्रभावकारी छैनन् ।

जब पाठक कथा पढ्न बस्छ, तब उसले त्यहाँ कला खोज्छ । पात्र र परिवेशमा आफूलाई डुबाउन चाहन्छ । अनि कथा पढिसकेपछि मात्र उसले कथाले भन्न खोजेको कुरो बुझ्छ, त्यो पनि आफूअनुसार । ठाडो विचार आजकालका पाठकहरुले स्विकार गर्दैनन् ।

हुन त प्रत्येक चीज महत्वहीन भन्ने हुँदैन । युद्धकालको केही परिवेश, युद्धमा होमिएका व्यक्तिहरुको केही चिन्तन्, युद्धमा नारीहरुले गरेको संघर्ष आदि बुझ्न केही हदसम्म मदत गर्छ यस पुस्तकले ।

सत्य हो, जथाभावी ईटा जोडेर राख्दैमा घर बन्दैन । घर बनाउन कला चाहिन्छ । राम्रो फिनिसिङ र रङ्रोकन पनि चाहिन्छ । आउँदा दिनमा कथा लेख्दा विचार मात्र होइन कला र प्रस्तुतिमा ध्यान दिनुपर्ने आवश्यक्त देखिन्छ लेखिका सरलाको ।

साहित्यिक मूल्य मान्यता र स्तरीयताको विचार नगरी साझा प्रकाशनले छापेको यस पुस्तकको मुल्य रु. १८० छ । यद्यपि यो पुस्तकले साझा कतातिर जाँदैछ भन्ने कुराको बलियो संकेत गरेको छ । बुझ्नेलाई इशारा काफी ।

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...