Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
देश
मुख्य समाचार : संघीय संसद्को संयुक्त बैठक आज-समिति गठन प्रक्रिया प्रारम्भ, ट्रम्प र किम सिंगापुरमा

काठमाडौं, २८ जेठ– सरकारले नेपाल प्रहरीमा प्राविधिक बाहेक तीनजना मात्र एआईजी राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको हो ।

यस्तै बैठकले सशस्त्र प्रहरीमा पनि दुईजना मात्र एआईजी रहने निर्णय गरेको छ । बैठकले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रुबेँसी र चीनको ज्याङ्बु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव स्वीकृत गरेको छ ।

नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीलाई दिने निर्णय बैठकले गरेको छ । 

संसदीय समिति गठन प्रक्रिया शुरु
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनको नियमावली पारित भएसँगै संसदीय समिति गठन प्रक्रिया पनि शुरु भएको छ । नियमावलीअनुसार प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा चार गरी १४ वटा विषयगत समिति गठन गर्ने बाटो खुलेको छ ।

सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन, मूल्यांकन गर्न र आवश्यक निर्देशन दिन विषयगत संसदीय समिति गठन गर्न लागिएको हो । पत्रपत्रिकामा खबर छ ।

प्रतिनिधिसभामा  अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा गरी १० वटा समिति रहने छन् ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन् ।

राष्ट्रियसभाका सदस्यको पदावधि निर्धारण गर्न असार ४ मा गोलाप्रथा
राष्ट्रिय सभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आइतबार पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो । 

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव
संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ । 

उक्त प्रस्तावसहितको नियमावली सोमबार अपराह्न १ः०० बजेका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकमा पेश गरिँदैछ । चवालीस दफा र ८ परिच्छेदसहितको प्रस्तावित नियमावलीमा संयुक्त बैठक, व्यवस्थापन कार्यविधि, जनमत संग्रह, संसदीय सुनुवाइ समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको व्यवस्था गरिएको छ ।

नियमावलीमा अन्य संयुक्त समितिको कार्यविधि एवं अधिकारको व्यवस्था पनि गरिएको छ । 

बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक
चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड पुगेको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु ५१ करोड थियो । अघिल्लो वर्षको १० महिनामा चालु खाता रु सात अर्ब ५७ करोडले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु १९१ अर्ब दुई करोड पुगेको छ । 

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालु खातामा उच्च घाटा भएको हो ।  अघिल्लो वर्षको १० महिनामा रु ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु १८ अर्ब ९३ करोडले घाटामा रहेको छ ।  राष्ट्र बैंकका अनुसार आव १० महिनासम्ममा कूल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६५ करोड पुगेको छ । 

अनमिन्को अवशेष अब नरहने 
माओवादी विद्रोहको बेला नेपालमा डाकिएको संयुक्त राष्ट्रसंघीय राजनीतिक नियोग (अनमिन्) को सम्पर्क कार्यालयको रूपमा काठमाडौंमा रहेको एकाइलाई तत्काल बन्द गर्न सरकारले राष्ट्रसंघलाई पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले सरकारी निर्णयको पुष्टि गरेका छन् ।

‘शान्तिप्रकृया अनुरूप संविधान निर्माण, सबै तहका निर्वाचन र तदनुरूप सरकार गठन भै स्थायित्वको चरण आरम्भ भैसकेकोले राष्ट्रसंघको लियाजो अफिस अब आवश्यक नभएको हुँदा सरकारले यो निर्णय गरको हो,’ पौडेलले लोकान्तरलाई बताए ।

अनमिन् सन् २००७ देखि २०११ सम्म नेपालमा कृयाशील थियो । अनमिन् फर्किने निधो भएपछि राष्ट्रसंघको राजनीतिक मामिला सम्बन्धी विभागलाई सरकारले शान्तिप्रकृया अनुगमनको निमित्त एक सम्पर्क कार्यालय ( लियाजो अफिस ) कायम राख्न अनुमति दिएको थियो ।   

नीति कार्यक्रममाथि छलफल शुरु
प्रदेश नं ७ को सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा आइतबारबाट छलफल शुरु भएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम समग्रमा स्वागतयोग्य रहे पनि धेरै विषय छुट्न गएको भन्दै छुटेका विषयलाई समेटिनुपर्ने सुझाव दिए ।

प्रतिपक्षीका सदस्यले नीति कार्यक्रमको पहिलो बुँदामै गणतन्त्रप्राप्तिका लागि बलिदान गर्ने शहीद, घाइते, अपांग, बेपत्ता भएकाप्रति शब्दमा सम्मान गरिए पनि उनीहरुको परिवारको हकहितका लागि केही नबोलिएको तथा नीति कार्यक्रम अस्पष्ट र गन्तव्यहीन देखिएकाले कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका थिए । 

चार जोडीको विवाह रोकियो 
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन चार जोडीको विवाह रोकिएको छ । जिल्लास्थित बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो ।

चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिए ।

यस्तै, वडा नं १४ का १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाह समेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ । 

यसैगरी, वडा नं– १३ का १७ वर्षीय युवक र १७ वर्षकै युवतीका बीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताए । 

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्त गर्नु भएको हो । बोर्ड अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम उहाँलाई नियुक्त गर्नु भएको हो ।

निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नं ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जारी गरेको सूचनाअनुसार पोखरा लेखनाथ महानगरपालिका–३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदीपुर चोक, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस जाने मार्गको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजारतर्फको परिसरभन्दा १०० मिटर परसम्मको चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ ।

महानगरपालिकाको वडा नं ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी इकाई कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रवेशद्वार, पश्चिम प्रदेश प्रहरी कार्यालय क्षेत्रभित्र सोमबारदेखि भेला हुन, विरोध प्रदर्शन गर्न, जुलुश र्याली गर्न नपाउने गरी स्थानीय प्रशासन ऐनअनुसार आदेश जारी गरिएको छ । 

राष्ट्रियसभामा चार समिति 
राष्ट्रियसभाको आइतबारको बैठकले राष्ट्रियसभा नियमावली २०७५ मा चार समितिसहित  सदस्यको पदावधि  निर्णय गर्ने व्यवस्था गरेको छ । सात अनुसूची र २८ परिच्छेदको नियमावलीमा राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन, अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन एवं बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र बैठकको कार्यविधि उल्लेख गरिएको छ । 

त्यसैगरी राष्ट्रियसभाले निर्णय गर्ने तरिका, बैठकको व्यवस्थापन, राष्ट्रपतिबाट सम्बोधन,  नीति तथा कार्यक्रम, प्रस्तावसम्बन्धी कार्यविधि, व्यवस्थापन कार्याविधिलगायत विषय उल्लेख गरिएको छ । 
नियमावलीअनुसार राष्ट्रियसभाअन्तर्गत चार समिति रहनेछ । 

‘सबैभन्दा बेस १ नं प्रदेश’
प्रदेश नं १ सरकारले ‘सबैभन्दा बेस १ नं प्रदेश’ मूल नाराका साथ लोकतन्त्रको रक्षा, सामाजिक न्याय र समानतामा आधारित समतामूलक समाजको निर्माण गर्दै समृद्ध र सुसंस्कृत प्रदेश बनाउने लक्ष्य राखेको छ । 

प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकता राखेर पूर्णरुपमा व्यवसायीकरण तथा औद्योगिकीकरण गर्दै जाने तथा  जमीनको चक्लाबन्दी वा करार खेतीका माध्यमबाट खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताए । 

नीति तथा कार्यक्रममा गरिबीमुक्त प्रदेशका रुपमा विकास गर्नका लागि प्रदेश सरकारले आवश्यक रणनीति, कार्यनीति तथा कार्यक्रम सञ्चालन गरी स्थानीय तहमा रोजगारको सिर्जना गर्ने बताइएको छ ।   
‘एक समूह वा एक सहकारी एक उत्पादन एक सहकारी एक उत्पादन’ नीतिका साथै ‘उत्पादन गरौँ, प्रदेशलाई समृद्ध बनाऔँ’ नीति सरकारले लागू गर्नेछ ।

एकसय ३७ नक्कली परीक्षार्थी पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा चेकजाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

शिखर वार्ताका लागि ट्रम्प र किम सिंगापुरमा 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् । सिंगापुरका अधिकारीले किम कुन जहाजमा आइरहेका छन् भन्ने यकिन नभएकाले अन्दाज गर्दै बसेको जनाएका थिए । उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए । 

ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुँदै छ । उक्त बैठक बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ ।

प्रधानमन्त्री कपको उपाधिका लागि विभागीय टोली भिड्ने 
प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् ।

राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब र राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मी नेतृत्वको एपिएफबीच फाइनल खेल सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को अयाोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा आर्मी क्लब अपराजित टोली हो । प्रतियोगितामा एपिएफले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM View all
Dedicate A Song
Public Poll

Loading...