Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
साहित्य
रात ढलेको थिएन : सरल तर भावपूर्ण कविताको संगालो

मिलन संग्रौला

साहित्यलाई सीमाले बाँध्न सक्दैन । एउटा भावना बोकेर हिड्ने मन जहाँ पुगे पनि त्यसरी नै भावुक बन्छ । एउटा विचार बोक्ने मष्तिष्क जहाँ भए पनि त्यसरी नै सोच्छ । केवल समय र स्थानअनुसार उसले सोच्ने विम्ब, उसले रचना गर्ने पृष्ठभूमि र वातावरणमा फरक आउन सक्छ । तर जे भए पनि त्यो कला नै हो । साहित्य नै हो । साहित्य र कलालाई ठाउँअनुसार विभाजनको रेखा कोरेर छुट्याउनु उचित हुन्न जस्तो लाग्छ । अझ यो झन् ग्लोबलाइजेसनको जमाना हो । इन्टरनेटले विश्वभरका मानिसको दूरीलाई मेटाइदिदैंछ । अब कला र साहित्यले भौगोलिक विभाजनको रेखा मेटाउँदैछन् । कुनै व्यक्तिले जुम्लाको कुनामा बसेर साहित्यक लेखोस् वा राजधानीमा, अरबको खाडीमा पसिना बगाउँदै बचेको समयमा लेखोस् वा युरोप र अमेरिकामा । जहाँ बसेपनि उसको रचनाले अब समान हक खोज्छ ।

पहिले साहित्यलाई मोफसल र राजधानीको नाम दिएर एक प्रकारको विभाजन गरियो । मोफसल नामैले आफैं अन्यायमा परेझैं थियो । त्यस्तै एकदशक अघिदेखि नेपालीहरु कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा जाने क्रम बढेसँगै विदेशी भूमिमा पनि साहित्यक सिर्जनाहरु मौलाउन थाले । विदेशी भूमिमा रचिएका सिर्जनाहरुलाई साहित्यका पण्डितहरुले डायस्पोरा नामको नयाँ जात जुराइदिए । यसरी साहित्यलाई वर्गीकरण गर्नुको खासै औचित्य भने देखिदैंन । जहाँ बसेर लेखेपनि त्यो नेपाली साहित्य हो र यदि त्यसमा उत्कृष्टता छ भने त्यसलाई कसैले विभाजनको रेखा खिची अस्वीकार गर्न सक्दैन ।

गोपीकृष्ण प्रसाई नेपाली कविता क्षेत्रमा अपरीचित नाम होइन । २०४८ सालमै पहिलो कविता संग्रह निकालेका उनले विभिन्न कविता प्रतियोगिताहरुमा उत्कृष्टता हासिल गर्दै आएको विवरण हेर्दा उनी एक प्रखर कवि हुन् भन्ने पुष्टि हुन्छ । यदि उनी केन्द्र भनिने काठमाण्डौंमै डटेर कविता लेख्दै आएका हुँदो हुन् त , चर्चाको शिखरमा उक्लिसकेका हुन्थें । तर उनी मोफसलबाट सिधै डायस्पोरा हानिए । यसकारण केन्द्रका रचनामा मात्र दम देख्ने पण्डितहरुका साँघुरा आँखाले उनका कवितामा रहेको शक्तिलाई देख्न सकेन ।

उनी दोस्रो कविता संग्रह “रात ढलेको थिएन” लिएर नेपाली साहित्यमा आफ्नो गतिलो पहिचान खोज्न आइपुगेका छन् । यस संग्रहभित्र रहेका उनका कविताहरु सरसर्ती हेर्ने हो भने उनी सरल कवि हुन् भन्ने लाग्छ । गहकिलो र अमूर्त भाषा प्रयोग गरेर लेखे मात्र कविता बन्छ भन्ने भ्रमबाट मुक्त देखिन्छन् उनी । सरल हुँदाहुँदै पनि उनका कविताले बोक्ने अर्थ भने गहन नै छन् । सरल भाषामा गहकिला कविता लेख्ने कवि हुन् उनी ।

उनका कविताहरुलाई भाव र अर्थका दृष्टिले विभिन्न कोणबाट हेर्न सकिन्छ । देशप्रेमले ओतप्रोत कविता, डायस्परिक(देशिक) जीवन र यसका जटिलता समिटएका कविता, देशभित्रै दुःख गर्दै गरेको मान्छेहरुका पीडा र भावना समेटिएका कविता, विश्वका क्रुर शासकहरुप्रति आक्रोस व्यक्त गरेका कविता, आदि । कुनै कविता अग्रजहरुप्रति सम्मान दर्शाउँदै लेखिएका पनि छन् । समग्रमा मानव जीवन र समाजका विविध आयाम, विसंगति, अन्योल, विकृति, हाँसो, आँसु आदि सबै समेट्न सफल छन् कविताहरु । तर उनका कवितामा आक्रोस र क्रोन्दन मात्र नभएर आशा र सुनौलो भविष्यका प्रतिविम्ब पनि समेटिएका पाइन्छन् ।

देशप्रतिको चिन्ता, राजनीतिक अस्थिरताप्रतिको आक्रोस, शान्ति र विकासप्रतिको चाहना उनका कविताहरुमा यसरी पोखिएको पाइन्छ :

मनको शान्ति चाहन्छन् मानिसहरु

युद्धले प्रताडित यो दुनियाँ

तनको शान्ति चाहन्छन् मानिसहरु (बुद्धका आँखा )

 

उनका कविताले अन्याय र शोषण गर्ने क्रुर शासकहरुलाई यसरी धिक्कारेका छन् :

शान्तिका धिमे मूच्र्छनाहरु मारेर

मानव सभ्यतालाई कैद गर्ने तिम्रो राज्य

संसारले नबुझेको कानुन

सारा निष्पट जंगलभन्दा पनि

एकाकार पो रहेछ ( तालिवान शासकहरु)

 

मान्छेको मनभित्र मडारिने भावना र अन्योललाई यसरी सटिक प्रस्तुत गरिएको पाइन्छ संग्रहको मुख्य कविता “रात ढलेको थिएन”मा :

अनेक प्रश्नहरु तेस्र्याएँ रातसँग

मेरो मन चौपट्ट अस्थिर छ

तर पनि यो मनको जिज्ञासा गलेको थिएन

किनकी यो रात अझै ढलेको थिएन

हो साँच्चै

रात ढलेको थिएन …….

आफू विदेशको जुन भूमिमा भए पनि आफ्नो देशका गाउँलेहरुले भोगेको व्यथाले कविलाई पनि पिरोलेको देखिन्छ ।

यसपालीको उसको चाहना

एउटा राम्रो साडीमा छ

आघौंको उसको कल्पना

एउटा तातो राडीमा छ

पराघौंको उसको योजना

एउटा लैनो पाडीमा छ

यिनै आकाङ्क्षा तर उन्मुक्त आकास

पोल्टामा सातु अनि भुटेका मकैहरु

सुस्तरी बोल्दछ लत्रेको परेली (पखिनी जेठी)

विदेशीभूमिमा देखेका र भोगेका दृश्यहरु उनका कवितामा प्रचुर मात्रामा पोखिएका पाइन्छन् :

बर्लिन सहर

यतिखेर हाँसिरहेको छ

बषिर्एको हिऊँ देखेर

यन्त्रिक पीडाले थिचिएको शहर

मन हलुंगो पार्दैछ

हिऊँका कविता लेखेर,

पिऊँपिऊँ लाग्ने, जिऊँजिऊँ लाग्ने

त्यो हिऊँ हो कि मोती ? (हिऊँको बर्षा)

 यि त केही उदाहरण मात्र भए । चर्चा गर्दै लाने हो भने त उनका प्रत्येक कविताको चर्चा गर्नै पर्ने हुन्छ । सम्रगमा सरल संरचना, सिधा भाव र साधारण विम्ब संयोजनले सजिएका उनका कविताहरु अर्थमा भने गहकिला छन् । अनि विविधताका हिसाबले पनि उनी बहुआयामिक कवि झैं लाग्छन् । कविताहरु केही लामै छन् । तर पनि कविको मनको पिलो फोरिनकै लागि लामा कविता लेखिएको जस्तो लाग्छ पढ्न थालेपछि । कविले वास्तवमै पिरोलिएरै कविता लेखेका हुन् जस्तो लाग्छ । पाठक स्वयमं पनि भावुक बन्दै पिरोलिन्छ पढ्दै जाँदा । यसलाई नै उनका कविताको शक्ति मान्नुपर्छ ।

शक्तिशाली भइकन पनि उनका कविताहरुमा केही सीमाहरु देखिन्छन् । कुनै कुनै कवितामा उनी बढी व्याख्या गर्न पुग्छन् । यसले पाठकलाई केही पट्यार बनाउँछ । यदि बिचबिचमा अनावश्यक व्याख्या र स्पष्टीकरण नदिई विम्ब र प्रतिकको सहयोगले सटिक कवितामा ध्यान पुर्याइएको भए सुनमा सुगन्ध नै हुने थियो । विम्ब संयोजनमा विशेष ध्यान दिने हो भने कविताको लम्बाई पनि घटाउन सकिन्थ्यो । पाठककलाई कवितामा बाध्ने भनेकै विम्बले हो । कविता पढ्नुको अर्थ नै विम्ब केलाएर अर्थ खोज्नु हो ।

उनका केही कविताहरुमा कवितामा हुने गुणभन्दा बढी कथा वा निबन्धमा हुने गुण पाइन्छन् । कविताका पंक्तिहरु सरल वाक्यझैं एकअर्कामाथि खप्टिएका देखिन्छन् । जस्तै उनको “वचनामृत” कविता यसरी सुरु भएको छ :

आज बेलुका दाजुको मुखबाट

निस्केको वचनामृत !

प्रसङ्ग थियो लामखुट्टेको

अनि उसले डम्म अघाएर पनि

मान्छे चुस्ने प्रवृत्तिको

कविताको भाव उत्कृष्ट छ । अर्थ पनि गहन छ । तर सुरुको कथावाचन शैली अनावश्यक लाग्छ । सिधैं भाव र अर्थमा ध्यान दिएर कविताको संयोजन गर्नुपर्ने देखिन्छ । अर्को कविता संग्रह निकाल्दा यि झिनामसिना दागहरुलाई मेटाएर आउने हो भने उनको कवित्वको चमकले नेपाली साहित्य चम्किनेछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशित गरेको यस कविता संग्रहको मुल्य नेपालमा रु. १३० र विदेशमा ७ डलर रहेको छ ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...